लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छन् ।
ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा आइतबार साँझ टेलिभिजनमार्फत एक विशेष सन्देश दिँदै ९३ वर्षीया महारानीले एकतावद्ध र दृढ निश्चयी भएमा ब्रिटेनले यो संकटमाथि अवश्य जित हासिल गर्ने बताइन्।
‘हामीले अझै बढी पीडा खेप्नुपर्ने हुन सक्छ, तर राम्रा दिन फर्कने छन्। हामी फेरि हाम्रा साथीहरूसँग, परिवारसँग सँगै हुनेछौं, हामी फेरि भेट्ने छौं,ु उनले सन्देशमा भनेकी छन्, ‘यदि हामी एकतावद्ध र दृढ निश्चयी भएमा हामीले यो संकटमाथि अवश्य पनि जित हासिल गर्नेछौं।’
महारानीले घरमै बसेर तथा एक अर्कालाई सहयोग गरेकोमा आफ्ना जनतालाई धन्यवाद दिइन्। उनले सबै देशवासीलाई सरकारको निर्देशन पालना गर्न र घरमै बस्न आग्रह पनि गरिन्।
सन्देशमा महारानीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस लगायत देश बन्द रहेका बेला पनि आवश्यक सेवा सञ्चालन गर्न खटिरहेका कामदारहरूलाई धन्यवाद दिएकी छन्।

ब्रिटेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या झन्डै ५ हजार पुग्नै लाग्दा ब्रिटिस महारानीले देशवासीका नाममा यस्तो सन्देश दिएकी हुन्। ब्रिटिस महारानीले यो सन्देशबाट देशवासीको मनोबल उठाउन खोजेको ठानिएको छ।

६८ वर्ष लामो शासनकालमा देशवासीका नाममा महारानीले दिएको यो पाचौं विशेष सन्देश हो।

ब्रिटिस महारानीसँग कुनै राजनीतिक शक्ति नभए पनि धेरैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा लिने गर्छन्।