काठमाडौं, २८ असोज – कोरोना बीमाको रकम अब बिमितले नपाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको हो ।
कोरोना बीमा गर्नेहरुको बिमांक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बताए ।
यसअघि संक्रमण परीक्षणदेखि उपचारसम्मको सबै खर्च सरकारले व्यहोर्दै आएको थियो । संक्रमण पुष्टी भएका व्यक्तिहरुले कोभिड–१९ को उपचारको लागि खर्च गर्नु परेको थिएन ।
बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाइने व्यवस्था छ । यसअघिसम्म यस्तो दाबी भुक्तानी बिमितले नै पाउदै आएका थिए । कोरोना बीमामा सुरुमा १ लाख ५० हजार रुपैयाँ बिमांकको ल्याइएको भएपनि पछि संशोधन गरेर १ लाख रुपैयाँ बिमांकको मात्रै गर्न पाइने व्यवस्था मिलाइएको थियो ।
अहिलेसम्म १४ लाखभन्दा बढीले कोरोना बीमा गरिसकेका छन् । एक लाख रुपैयाँ बिमांकको कोरोना बीमाको लागि समितिले सामुहिक रुपमा ६ सय रुपैयाँ र व्यक्तिगत रुपमा १ हजार रुपैयाँ बीमा शुल्क तोकेको थियो । कोरोना बीमाबाट ८० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ ।
कोरोना बीमाका दाबी धेरै पर्ने देखिएको भन्दै केही समयदेखि दाबी भुक्तानीमा समस्या सिर्जना भएको थियो । यो बीमाको पुनर्बीमा भएको छैन । समितिले पुल मार्फत यस्तो बीमाको दाबी भुक्तानीको व्यवस्था मिलाएको छ ।
समितिले मिलाएको व्यवस्था अनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी २० वटा निर्जीवन बीमा कम्पनीले दामासाही रुपमा तिर्ने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँ दाबी नेपाल पुनर्बीमा कम्पनीले तिर्ने व्यवस्था मिलाइएको छ भने त्यसपछिको ५० करोड रुपैयाँ बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोषको रकमबाट तिर्ने भनिएको छ ।
त्यसपछिको १ अर्ब रुपैयाँ बीमा समितिले आफ्नो विभिन्न कोषमा रहेको रकमबाट तिर्ने र सोभन्दा बढी दायित्व सिर्जना भएमा नेपाल सरकारले तिर्ने भनिएको छ ।
FACEBOOK COMMENTS