काठमाडौं । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्ने सम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ वीच हवाई उद्दारका लागि सम्झौता भएको हो । समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने-गराउने व्यवस्था मिलाउने भएको छ ।
त्यसैगरी विपद्को समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजि हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउदै परिचालन गरिनेछ । वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ । त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ ।
त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ । गृह मन्त्रालय मार्फत उद्धार उडानको लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डययन प्राधिकरणलाई समेत जानकारी गराउनेछ ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिर खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकप्टर संचालनको न्यूनतम खर्चमा परिचालन गर्ने र हेलिकप्टर प्रयोग बापतको रकम विल तथा विपद्का घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेश लगायतका कागजातहरु प्राप्त भए पश्चात प्राधिकरणले भुक्तानी दिने प्रवन्ध गरिएको छ ।
त्यसका साथै समयमै उद्धार उडान गर्ने\गराउने प्रयोजनार्थ गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजि वायुसेवा संचालक संघका प्रतिनिधिहरु रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ ।
एक बर्षका लागि गरिएको समझदारी आपसी समझदारीमा पुनः नविकरण गर्न सकिने समझदारीमा उल्लेख छ । समझदारीपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश प्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन् ।
दुई पक्षीय समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताए । उनले भने- ‘हामी मनसुनको प्रारम्भिक चरणमा छौं । मनसुनजन्य विपद्बाट ठुलो जनधनको क्षति भएको अवस्था छ । नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद् खोज, उद्दार तथा प्रतिकार्यमा सक्रिय छ ।’
FACEBOOK COMMENTS