काठमाडौं, माघ २० – चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ ।
एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।
कोरोना भाइरसको कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन् । वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । ६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ ।
हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन्। यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्।
