काठमाडौं – उद्योगबाट विद्युत् उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ। सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो। पहिलोपटक उद्योगबाट उत्पादित विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेपाल विद्युत् प्राधिकरणबाट बिजुली किन्ने उद्योगहरु उसलाई नै बेच्न तयार भएका छन्।
यसका लागि विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भइसकेको चिनी उद्योग संघका महासचिव एवं इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाले बताए।
उनका अनुसार विद्युत् प्राधिकरणसँग यसै वर्षभित्र पिपिए गरी विद्युत् उत्पादन प्रक्रिया अघि बढाइनेछ। ‘उद्योगहरुका तर्फबाट सबै अध्ययन र रिपोर्ट तयार भइसकेको छ, प्राधिकरणले अनुमति दिए यसै वर्षबाट उत्पादन सुरु गर्छौं’, उनले भने।
भारतबाट विद्युत् किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई देशभरका १२ चिनी उद्योगले हिउँद याममा ६० देखि ७० मेगावाट बिजुली बेच्ने भएका छन्।
केडियाका अनुसार उद्योगले उत्पादन गरेको बिजुली प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ। यसरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कसरी उत्पादन हुन्छ बिजुली ?
चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । ‘उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ। बाष्पीकरणबाट बिजुली बन्छ । जलविद्युत्मा पानीको टर्वाइन भनिन्छ। उद्योग क्षेत्रमा हामी यसलाई स्टिम टर्वाइन भन्छौं। उद्योग चल्नेबित्तिकै बगास उत्पादन हुन्छ । बगासलाई वाष्पीकरण गरेर विद्युत् उत्पादन सुरु हुन्छ’, केडियाले भने। – नागरिक दैनिक
FACEBOOK COMMENTS