पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकामा बोकेर फलफूल र तरकारी व्यापार गर्ने १९ महिलाको सामूहिक कोरोना बीमा गरिएको टेवानका महासचिव कमला गिरीले जानकारी दिए ।
बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुनेछ । आगामी चैतसम्म पिसिआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले रु एक लाख रुपैयाँ पाउनेछन् ।
“सडकमा व्यापार गर्नेहरुमा कोरोनोका सङ्क्रमण हुने सम्भावना बढी हुन्छ”, अधिकारीले भने । कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले केही राहत मिल्ने उनको भनाइ थियो ।
टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले सङ्क्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच हुन नसक्ने भएकाले संस्थाले उनीहरुको बीमा गरेको बताइन् । पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर विपन्न महिलाको कोरोना बीमा गरेकामा सराहना गरे ।
यसैबीच गण्डकी प्रदेशको पछिल्लो विवरणानुसार आजसम्म्म १०१ जना कोरोना जितेर घर फर्केका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा गोरखाको गण्डकी गाउँपालिकाका पाँच पुरुष, गोरखा नगरपालिकाका तीन पुरुष र एक महिला गरी नौ जना आज निको भएर घर फर्केको जनाइएको छ । यससँगै प्रदेशमा कोरोना जित्ने सय जना नाघेका हुन् ।
प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगेका छन् । आज बिहान तनहुँ, स्याङ्जा ,बागलुङ र नवलपुरका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म दुई सङ्क्रमितको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS