काठमाडौं,मंसिर १५ – नेपाली हस्तकलालाई स्वदेश तथा विदेशमा चिनाउन प्रमुख पर्यटकीय नगरी ठमेल र पाटनमा प्रचारप्रसार गरिएको छ ।
महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा शुक्रबार ठमेल र पाटनमा हस्तकलाको प्रचारप्रसार गरेको हो ।
ठमेल र पाटनमा झाँकीसहित प्रचारप्रसार गरिएको महासंघका महानिर्देशक श्रीकृष्ण पौडेलले जानकारी दिए।
दश ज्येष्ठ कलाकार सम्मानित
नेपाल हस्तकला महासङ्घले हस्तकला विद्यामा लामो समय योगदान गरेका १० ज्येष्ठ कलाकारलाई सम्मान गरेको छ ।
महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा १० ज्येष्ठ कलाकारलाई धातूको ताम्रपत्र, दोसल्ला र खादाद्धारा सम्मान गरेको हो ।
सम्मानित हुनेमा काष्टकला विधामा ललितपुरका ८४ वर्षीय बद्रीकृष्ण शिल्पकार, सेरामिक्समा भक्तपुरका ८३ वर्षीय न्हुच्छेभगत प्रजापति, धातुपत्रकलामा ललितपुरका ८२ वर्षीय प्रेमकृष्ण ताम्राकार, धातुमूर्तीकलामा ललितपुरका ७९ वर्षीय माईला शाक्य, तामा, पित्तलकलामा ललितपुरका ७८ वर्षीय हेमरत्न बज्राचार्य रहेका छन् ।
यस्तै, कृष्टल मुगाकलामा ललितपुरका ७६ वर्षीय कान्छा शाक्य, फिलिग्रीकलामा ललितपुरका ७६ वर्षीय न्हुक्षेनानी शाक्य, चाँदीको धार्मिक कलामा ललितपुरका ७५ वर्षीय हेरारत्न शाक्य, हस्तीहाडकलामा ललितपुरका ७४ वर्षीय पूर्ण विश्वकर्मा स्थापित र चित्रकलामा काठमाडौँका ७३ वर्षीय रत्नबहादुर बज्राचार्य सम्मानित भएका छन् ।
सम्मानित हुनेमा सबै ज्येष्ठकलाकारले नेपालको हस्तकलामा चार दशकभन्दा बढी योगदान दिएको महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले जानकारी दिए ।
हस्तकलाको विकाससम्बन्धि गोष्ठी
पुरानो इतिहास बोकेको हस्तकलाको विकासका लागि नेचुरल फाइबरसम्बन्धि गोष्ठि आयोजना गरिएको छ ।
महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा नेपाल पर्यटन वोर्डको हलमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले नेपालको हस्तकलाको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको बताए । “मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा हस्तकलाले महत्वपूर्ण भूमिका खेलेको छ,”–उनले भने ।
व्यापार तथा निकाशी प्रवद्र्धन वोर्डका उपनिर्देशक राजेन्द्र सिंहले नेपालमा सीमित स्रोत साधनका बाबाजुद हस्तकला क्षेत्रमा धेरै सामाग्री उत्पादन गरेको बताए । आलस, अल्लो र जुटको व्यवसायीक खेती नहुँदा प्राकृतिक रेशाजन्य हस्तकला विकासमा समस्या परेको उनको भनाई थियो ।
महासङ्घका निवर्तमान अध्यक्ष धर्मराज शाक्यले वार्षिक १० अर्ब बराबरको हस्तकला विदेशमा निर्यात हुँदै आएको उल्लेख गरे ।
FACEBOOK COMMENTS