काठमाडौँ । नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले आज काठमाडौँ उपत्यका अन्तर्गतका हलमा भिजिट गरिरहेको छ । भिजिटका क्रममा दर्शकले दिएको प्रतिक्रियाले आफू सहित सम्पूर्ण टिम उत्साहित रहेको निर्देशक तुलसी घिमिरेले बताए ।
’दर्शकले हामीलाई दिएको प्रतिक्रियाले निकै उत्साहित भएका छौ । दर्शकले आफ्नै कथा भन्नुभएको छ । मैले जे बुझाउन खोजेको थिए, दशकसम्म त्यो पुगेको छ’, निर्देशक घिमिरेले भने । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित फिल्मले दर्शकको मन जितेको प्रतिक्रिया पाएको अभिनेता विपिन कार्कीले बताए । ’यो फिल्मलाई दर्शकले दिनुभएको प्रतिक्रियाले अझैँ भीडभाड बढ्छ भन्नेमा विश्वस्त छु । यो फिल्मले नेपाली माटोको कथा बोलेको छ, हाम्रो आफ्नो मौलिक कथा हो । सबैलाई यसले बाँध्छ’, अभिनेता कार्की ले भने ।
फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको अभिनेता अरुण क्षेत्रीले बताए । उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । दर्शकले त्यसलाई रुचाउनु भएको छ ।’
आज फिल्मका कलाकारले काठमाडौँ उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।
