काठमाण्डौं – कुनै समय ब्याङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौं लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे ।
पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका ब्याङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भए पनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ ब्याङ्क तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा छ ।शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो अवसर भए पनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ ।
घट्दो बजारका कारण ठूला ब्याङ्ककै शेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ ।
स्टककाअनुसार सेञ्चुरी ब्याङ्कको प्रतिशेयर मूल्य रु १६९ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो ब्याङ्कको शेयर मूल्य रु २२७ रहेको थियो ।
यस्तै सिभिल ब्याङ्कको शेयर पनि घटेको छ । सो ब्याङ्कको प्रतिशेयर मूल्य रु १४८ रहेको छ । गत वर्ष भदौमा सो ब्याङ्कको शेयर रु २३० मा खरिद बिक्री भएको थियो ।
जनता ब्याङ्कको शेयर प्रतिकित्ता रु १५३ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो ब्याङ्कको शेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो ब्याङ्कको शेयर रु २५४ मूल्यमा खरिद बिक्री भएको थियो ।
यस्तै मेगा ब्याङ्क लिमिटेडको शेयर रु १६१ मूल्यमा खरिद बिक्री भएको छ । गत वर्ष रु ४४९ मा कारोवार भएको सो ब्याङ्कको शेयर निरन्तर ओरालो लागेको छ ।
माछापुच्छ्रे ब्याङ्कको शेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो ब्याङ्कको शेयर गत बिहिबार रु २०४ मा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो ब्याङ्कको शेयर रु ३२७ कारोवार भएको थियो ।
शेयर बजारमा नेपाल बङ्गलादेश ब्याङ्क कमजोर देखिएको छ । सो ब्याङ्कको शेयर रु १९९ मा कारोवार भएको छ । गत वर्ष भदौमा सो ब्याङ्कको शेयर रु ३३२ मा खरिद बिक्री भएको थियो ।
एनसिसि ब्याङ्कको शेयर पनि ओरालो लागेको छ । सो ब्याङ्कको शेयर प्रतिकित्ता रु १८० मा बिक्री भएको थियो । गत वर्ष भदौमा रु ३६४ मा खरिद बिक्री भएको थियो ।
यस्तै प्रभु ब्याङ्कको शेयर प्रतिकित्ता रु १८० मा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा रु ३७० मा कारोबार भएको थियो ।
सिटिजन ब्याङ्कको प्रतिकित्ता शेयर रु २३५, ग्लोबल आइएमइ ब्याङ्कको रु २९६, लक्ष्मी ब्याङ्कको रु २३३, ब्याङ्क अफ काठमाडौँको रु २८९, नेपाल ब्याङ्क लिमिटेडको रु २८६, एनएमबी ब्याङ्कको रु ३१६, प्राइम ब्याङ्कको रु २९५, सनराइज ब्याङ्कको रु २२०, एनआइसी एसिया ब्याङ्कको रु ३४० तथा सानिमा ब्याङ्कको प्रतिकित्ता शेयर रु ३२० मा कारोबार भएको छ ।
FACEBOOK COMMENTS