काठमाडौँ, भदौ २९ – डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य आकाशिएको छ ।
कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।
यो मूल्य अघिल्लो वर्षको तुलनामा सतप्रतिशत बढी छ । ताजा तरकारी उत्पादनमा सुदूरपश्चिमकै अग्रणी तथा व्यवसायिक मानिएको डडेल्धुरामा तरकारीको मूल्य अनधिकृत रुपमा आकाशिँदै गएपछि उपभोक्ता मारमा परेका छन् ।
आलु शितभण्डारमा रहेकाले अभाव सिर्जना भएको र तराई लगायत भारतीय बजारबाट पनि आयात रोकिएकाले तरकारी र फलफूलको मूल्य बढेको खुद्रा व्यवसायीको भनाइ छ ।
तर सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात हुने डडेल्धुराको तरकारी निषेधाज्ञाको बेला पनि जिल्लामा अभाव र महंगी हुनु लकडाउनको प्रभावभन्दा पनि बिचौलियाको प्रभाव रहेको स्थानीय बताउँछन ।
डडेल्धुरामा हरेक किसिमका तरकारीको मूल्य पसलअनुसार फरक–फरक छ ।
FACEBOOK COMMENTS