काठमाडौँ, कार्तिक १८ – यो वर्षको तिहारका लागि १५ लाख माला बनाउने तयारीमा पुष्प व्यवसायी छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आचारसंहिता र विभिन्न निर्देशनका कारण यसपटक तिहारमा भाइटीका लगाउनेको संख्या घट्ने आकलन गरी विगतका वर्षभन्दा कम माला बनाउन लागेको पुष्प व्यवसायीको संगठनका फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत वर्ष तिहारमा २० लाखभन्दा बढी संख्यामा माला बिक्री भएको थियो । ‘यसपटक स्थिति असामान्य छ । टाढा–टाढा घर भएका दिदीभाइ टीका लगाउनकै लागि जाने–आउने सम्भावना कम देखिन्छ । त्यसैले मालाको माग नै घट्ने अनुमानका आधारमा यो वर्ष १५ लाखको संख्यामा आपूर्ति गर्ने गरी अहिलेबाटै तयारी सुरु भएको छ’ अध्यक्ष श्रेष्ठले भने ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको माला अत्यधिक प्रचलनमा छ । यसमध्ये सयपत्री सबैभन्दा बढी अर्थात् ८० प्रतिशतसम्म प्रयोग हुने गरेको छ । व्यवसायीका अनुसार यो वर्ष १२ लाख सयपत्री र ३ लाख मखमली फूलको माला बजार पठाउने तयारी भएको छ । गोदावरी भने सयपत्री र मखमलीलगायत अन्य फूलसँग मिसाएर माला बनाउन प्रयोग हुने गरेको छ । गोदावरी मिसिएको माला तुलनात्मक रूपमा महँगो हुने गर्छ ।
FACEBOOK COMMENTS