काठमाण्डौँ — राष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ।
यो परिमाणअनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट साट्न सकिने छ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई र २१ गतेदेखि फूलपातीको एक दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिए।
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ।
सर्वसाधारणले आफूलाई पायकपर्ने बैंकका नोट कोष शाखाबाट नोट सट्ही गर्न सक्नेछन्। ‘

दसैंमा करिब १३ अर्ब एक सयभन्दा कम दरका तथा ५० अर्ब बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुमान गरेको निरौलाले बताए ।

सर्वसाधारणलाई बिना झण्झट नयाँ नोट साट्न पहुँच पुर्याउन यस्तो व्यवस्था मिलाइएको उनले बताए।

— अन्नपूर्ण