काठमाडौं – नारायणगढ–मुग्लिन सडक खण्डमा रहेका १४ वटा पुराना पुल विस्थापन गरी नयाँ बनाउने प्रक्रिया शुरु भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा ती पुल बनाउन लागिएको हो । सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार माघ महीनाभित्रमा बोलपत्र आह्वान गर्ने गरी नक्साङ्कनको काम भइरहेको छ ।
महाशाखा प्रमुख थापाका अनुसार वि.सं. २०३८ मा ती पुल चिनियाँ प्राविधिकले निर्माण गरेकाले अहिले गरिएका नक्साङ्कनका बारेमा छलफल गर्न प्राविधिक विज्ञसमेत बोलाइएको छ ।
उनका अनुसार चीनको थोङजी विश्वविद्यालयका प्राध्यापक डा सेनलाई पुल नक्साङ्कनको अन्तिम रुप दिनका लागि छलफल गर्न बोलाइएको छ ।
उक्त पुलहरु निर्माणका लागि माघको तेस्रो साताभित्र बोलपत्र आह्वान हुने गरी काम अगाडि बढाइएको छ । ११ मिटर फराकिलो दुई वटा नयाँ पुल बनाइनेछ भने १२ वटा पुलको दायाँबायाँ थप गरी विस्तार गरिने योजना रहेको आयोजनाले बताएको छ ।
सडक फराकिलो भइसक्दा पनि पुल साँघुरो भएपछि यातायात आवागमनमा समस्या हुँदै आएको छ । सो सडक विस्तार गरी नौदेखि ११ मिटर फराकिलो बनाइएको छ । नयाँ बन्ने र मर्मत गरिने सबै सडककै चौडाइअनुसार हुनेछन् ।
ती पुल नयाँ बनाउन र मर्मतका लागि दुई अर्ब लाग्ने अनुमान गर्दै विश्व बैंकले अर्थ मन्त्रालयसँग बुधबार अन्य योजनामा लगानी गर्ने सम्झौता गरिसकेको छ ।
तर नयाँ पुलभन्दा पुल भएकै ठाउँमा विस्तार गर्नुपर्ने देखिएकाले रु एक अर्ब हाराहारीमै काम सम्पन्न हुनसक्ने अनुमान गरिएको छ । १८ महीनामा पुल सम्पन्न हुने गरी काम गर्ने तयारी गरिएको सडक विभागको लक्ष्य छ । रासस
FACEBOOK COMMENTS