काठमाडौँ-राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कामको प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट गरिने निर्णय गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिको बहाली भइसकेको सन्दर्भमा पुनःनिर्माणको कामलाई स्थानीय तहबाटै अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकले भूमिहीन सुकुम्वासी परिवारलाई पनि घर निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । जसको घर छैन उनीहरुका लागि स्थानीय तहबाटै प्रमाणित गरेर त्यसको आधारमा जिल्ला समन्वय समितिबाट सिफारिश गरिने छ ।
प्राधिकरणले चालु आवभित्रै सबै लाभग्राहीलाई तेस्रो किस्तासम्मको सबै रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS