काठमाण्डौँ – तत्काल अनुगमनमा खटेको बजार निरीक्षण अधिकृतले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने भएको छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ लाई परिमार्जन गरेर बनाइएको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले उपभोक्ता संरक्षण ऐनलाई एकीकरण गर्न बनेको विधेयक २०७५ संसदमा पेश गर्नका लागि स्वीकृति दिएको छ ।
संसदबाट यो विधेयक पारित भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउने छ ।
विधेयकमा उपभोक्ता ठग्ने व्यवसायीलाई बजार निरीक्षण अधिकृतले तत्काल फिल्डमा ३० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद गर्नसक्ने व्यवस्था गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उनले बजार व्यवस्थित र मर्यादित राखी उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि पुरानो ऐनलाई सशोधन गरेर उपभोक्तामैत्री बनाइएको पनि बताए ।
यसअघि विभागलाई कारबाही गर्ने अधिकार थिएन ।
– कारोबार
FACEBOOK COMMENTS