काठमाडौँ, श्रावण २२ – नेपालमा विहीबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको कोशी अस्पताल, विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।
विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । उनीहरूको बुधबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा विराटनगरमा मृत्यु भएका ४५ वर्षीय पुरुष मंगलबार कोशी अस्पताल भर्ना भएका थिए । उनीमा मधुमेह र लिभरको समस्या थियो ।
यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट बलम्बु रिफर गरिएकी उनलाई गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा निमोनियाका साथै स्क्रब टाइफसको लक्षण समेत देखिएको मन्त्रालयले जनाएको छ ।
धनुषाकी वर्ष ७२ वर्षीकी एक महिलाको ओम अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । यसैगरी विहीबार मन्त्रालयले दिएको जानकारी अनुसार अर्का एक जना सप्तरीका ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ ।
रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS