काठमाडौं, वैशाख १० – ‘डाइरेक्ट टू होम’ टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले चितवनको फुटबल टीम ‘एफसी चितवन’ लाई प्रायोजन गरेको छ । नेपालमै पहिलो पटक भोलि (वैशाख ११ गते)देखि आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा उक्त टीम सहभागी हुँदै छ ।
डिशहोमका प्रबन्धनिर्देशक सुदीप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफसी चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भरत खवास मार्की प्लेयर रहेका एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्ने छन् ।
मेघराज केसीको प्रशिक्षणमा रहेको एफसी चितवनमा विकाश खवास, विकाश तामाङ, विवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदीप कार्की, विशाल सुनुवार, रूपबहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायत खेलाडीहरू छन् ।
एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्ने छ । नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिका लागि प्रतिस्पर्धा गर्ने छन् । सबै २५ वटा खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS