काठमाडौँ – पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन ।
विज्ञ समूहको दुई दिने बैठकपछि पानीको उपलब्धता र उपयोग, आयोजनाको क्षमता निर्धारणलगायतका विषयमा भने सहमति हुन सकेन ।
विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका क्रममा रहेका कूल १६८ विवादमध्ये ६४ विषयमा सहमति भए पनि प्रमुख ठानिएका विषयमा अझै छलफल जरुरी भएको भन्दै निर्णयमा पुग्न नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए ।
बैठकमा नेपालले पानीको उपयोग, बाँडफाँट, आयोजनामा हुने लगानी, विद्युत् उत्पादन क्षमता, सिँचाइ, बाढी नियन्त्रण लगायतका विषयमा थप छलफल जरुरी रहेको भन्दै निर्णयमा पुग्न नसकिएको बताइन्छ ।
नेपालले दोधारा र चाँदनीमा महाकाली सन्धिअनुसार नै पानी उपलब्ध गराउनुपर्ने विषयमा आफ्नो धारणा राखेको थियो ।
भारतीय पक्षले भने सो विषयलाई आयोजना निर्माणपछिको अवस्थामा उपलब्ध गराउने बताएको थियो । सन् २०१७ मा विवादका प्रमुख विषयमा सहमति खोज्न विज्ञ समूह गठन भएको थियो । (रासस)
FACEBOOK COMMENTS