काठमाण्डौँ — पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च गिरावट आएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार मंसिरसम्ममा ९२ हजार ९ सय ३१ जना कामका लागि बाहिरिएका छन् ।
यो अघिल्लो वर्षको सोही अवधिका तुलनामा ४० प्रतिशत कम हो ।
प्रमुख रोजगार गन्तव्यका रूपमा रहेको मलेसियातर्फ काममा जान रोक लगाइएपछि यो संख्यामा कमी आएको जानकार बताउँछन् ।
गत वर्ष मलेसियातर्फ ४९ हजार ५७ कामदार गएकोमा यसपालि २ हजार ५ सय मात्रै गएका छन्।

सरकारले मलेसिया जाने कामदारलाई बढी शुल्क लिइएको भन्दै गत जेठबाट त्यसतर्फ जान रोक लगाएको थियो।

यस वर्षको तथ्यांकमा मलेसिया गएको देखिएकाहरू त्यसअघि नै भिसा लागेकाहरू हुन्।

बाहिरिने कामदारको संख्यामा कमी आए पनि उनीहरूले पठाउने रेमिट्यान्स भने बढेको छ।
पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३२ प्रतिशतले बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
— कान्तिपुर