काठमाडौं, असोज ८ – नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि पूर्वघोषणा अनुसार भारतले १ अर्ब ५४ करोड रूपैयॉ भुक्तानी दिएको छ ।
भारतीय दुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव श्शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) को चेक हस्तान्तरण गरेकी छन् ।
भारत सरकारले आवास परियोजना अन्तर्गत १५ करोड अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७करोड २० लाख अमेरिकी डलर उपलब्ध गराएको भारतीय दुतावासले जनाएको छ ।
दुतावासका अनुसार भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।
भारत सरकारले ५ करोड अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४२ लाख अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको दुतावासले जनाएको छ।
भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको दुतावासले जनाएको छ ।
FACEBOOK COMMENTS