काठमाडौं, चैत ३ –नेपाली कांग्रेसका पूर्वनेता हरियाली नेपाल पाटीका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री स्वर्गीय कुबेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । कालिकास्थानस्थित सांस्कृतिक घरमा शनिबार नेता शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले २०४६ सालमा भएको बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शर्माले अग्रमोर्चामा रहेर संघर्ष गरेको स्मरण गरे । उक्त कार्यक्रममा सिंहले नेता शर्माको योगदानबारे चर्चा गरे त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तराइ–मधेश, हिमाल, पहाड सबैलाई मिलाएर अघि बढाउन सक्ने कुशल तथा बुद्धिजिबी नेताका रुपमा शर्माको स्मरण गरे । कार्यक्रममा पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले शर्मा जस्तो नेता नेपालमा धेरै कम रहेको बताइन् । शर्मा बुद्धिजीवी र सक्षम नेता भएको उनले बताइन् । कार्यक्रममा राजनीतिक दलका अन्य नेता, विभिन्न क्षेत्रका बुद्धिजीबीलगायतले नेपाली राजनीतिमा शर्माको महत्वपूर्ण योगदानको स्मरण गरे ।
केही समयदेखि अस्वस्थ नेता शर्माको ८४ वर्षको उमेरमा (१९९४ साल असार ५ – २०७७ फाल्गुन १४ ) शुक्रबार निधन भएको थियो । स्वर्गीय नेता शर्मा २०४८ सालमा सप्तरीबाट सांसद निर्वाचित भएका थिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निकट मानिने नेता शर्मा २०५९ सालमा पर्यटन मन्त्री भएका थिए । मुम्बइबाट चाटर्ड एकाउन्टेन्ट उत्तीर्ण हुने पहिलो नेपालीका रुपमा चर्चित नेता शर्माले विभिन्न वित्तीय संस्थाको उच्चा पदमा रहेर लेखा परीक्षणलगायतका कामसमेत गरेका थिए ।
राजनीतिक आश्थाका कारण बन्दी जीवनसमेत विताएका नेता शर्माले पञ्चायत शासनविरुद्ध जनआकांक्षा, निर्मल, राजधानी जस्ता साप्ताहिक पत्रिकासमेत प्रकाशन गरेका थिए । भ्रष्टाचार नियन्त्रणलगायत विषयमा नेपाली कांग्रेस पार्टीसँगको चर्को असहमतिका कारण नेता शर्माले २०५३ सालमा पार्टी परित्याग गरी हरियाली पार्टी स्थापना गरेर नेपालको राजनीतिक वृत्तमा चर्चा पाएका थिए । अर्थशास्त्र, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विभिन्ने विषयमा लेख तथा पुस्तकसमेत लेखेका शर्मा सप्तरीको एक विर्तावाल परिवारमा जन्मिएका थिए ।
FACEBOOK COMMENTS