काठमाडौं, कात्तिक २९ – प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ।
शनिबार बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। विसं १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी संघका सदस्य रहेका थिए। विसं २०१६ को संसदीय निर्वाचनमा बीपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे।
विसं २०१७ पुसमा बीपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे। सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पु¥याएका छन्। उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ। उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका थिए।
उनी विसं २०२९ मा गैँडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पु¥याएका थिए। उहाँकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो। गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पु¥याएका थिए। बीपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुन।