काठमाडौं, जेठ ८ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार राति यस्तो घोषणा गरेकी हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि अब कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वाचन हुने भएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अपुग रहेकाले अस्वीकार गर्दै निर्वाचन घोषणा गरेकी हुन्
शुक्रबार राति नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सोही सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले यस्तो निर्णय लिएकी हुन् ।
संविधानको धारा ७६(७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नसक्ने उल्लेख छ ।
संविधानमा व्यवस्था गरिएका प्रक्रिया पूरा गरी प्रतिनिधिसभा विघाटन गरिएकाले अब पुस ५ को जस्तो सर्वोच्चले बदर गर्ने अवस्था न्यून छ ।
