श्रावण ६ — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा गरेका छन् । प्रदेशसभा मंगलबारको बैठकमा सांसद्हरुले विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिने घोषणा गरेका हुन् ।
‘प्रदेश विपद् व्यवस्थापन कोषबाट स्थानीय तहको सिफारिसमा तोकिएको स्थानमा घर बनाइनेछ ।’, मुख्यमन्त्री पौडेलले बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने र घाइतेको उपचार व्यवस्था प्रदेशले गर्ने बताए ।
उनले कतिपय स्थानीय तहलाई राहत वितरणका लागि प्रदेशले आवश्यक बजेट उपलब्ध गराइसकेको र घरबारविहीनहरुको तथ्यांक स्थानीय तहले संकलन गरिरहेको प्रदेशसभामा जानकारी गराए । ‘बिरामीको उपचार, राहत वितरण तथा घर निर्माणका लागि स्थानीय तहसँगको समन्वयमा गरिनेछ ।’, उनले भने ।
मुख्यमन्त्री पौडेलले तोकिएको दरबन्दी अनुसार कर्मचारी संघीय सरकारबाट उपलब्ध नहुँदा काम गर्न समस्या भइरहेको जवाफ सदनमा दिए । कर्मचारी अभावका कारण प्रदेश सरकारले निर्माण गरेको नीति तथा कार्यक्रम तत्काल लागू गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए । ‘तोकिएको दरबन्दीको ६० प्रतिशतमात्र कर्मचारी उपलब्ध रहेका छन् । अझै ४० प्रतिशत अभाव रहेको छ । हामीले चाहेर पनि करारमा कर्मचारी भर्ना गर्न सक्दैनौं । जसको कारणले गर्दा हामीलाई जिल्ला(जिल्लामा सेवा केन्द्र तथा अन्य कार्यालयहरु सञ्चालनमा समस्या परिरहेको छ ।’, मुख्यमन्त्री पौडेलले भने ।
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र योजनाहरु निर्माण गर्न जिल्ला तहमा समन्वय कार्यालयहरु सञ्चालनको आन्तरिक गृहकार्य भइरहेको बताए । ‘प्रत्येक जिल्लामा योजना कार्यान्वयनका इकाई स्थापना हुनेछन् । कोरानाका कारण अधुरा रहेको योजनाहरुको म्याद संघीय सरकारको निर्णयअनुसार हुनेछन्’, उनले भने ।
मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका विद्यालयहरु सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको पनि बताए ।
FACEBOOK COMMENTS