काठमाडौं,फागुन २० -मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ।
प्रधानमन्त्री ओलीका आफन्तले मंगलबार विहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् । प्रधानमन्त्रीको आरोग्यताका लागि महामृत्युञ्जय, महारुद्री, लघुरुद्रीलगायत विशेष पूजा गरिएको हो ।
मिर्गौला प्रत्यारोपण सफलताका लागि पशुपतिका मूल भट्टले रुद्राभिषेक, जलाभिषेकसमेत गराएका थिए। पूजाका लागि दही, दूध, घिउ, मह, जललगायत सामग्रीबाट पञ्चामृतलगायत अन्य सामग्री तयार गरिएको थियो। पशुपतिमा विशेष पूजा गराउँदा जटिल रोग निको हुनुका साथै शल्यक्रिया सफल हुन्छ भन्ने विश्वास रहँदै आएको छ।