काठमाडौं, कात्तिक २० – मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले आइपिएल २०२० को सुरुदेखि नै बलिया टिमको छवि बनाएका थिए। दुवै टिममा बलियो प्लेइङ-११ छ, बेञ्चमा राम्रा खेलाडी छन् र मुख्य खेलाडीको विकल्प पनि छ।
लिग चरणमा मुम्बईले आफू डिफेन्डिङ च्याम्पियन भएको भान हुने गरी खेल्यो। शीर्ष स्थानमा रहेर लिग चरण समाप्त गर्यो। दिल्लीले पनि सुरुवातमा राम्रो खेल पस्कियो। मध्यतिर धरमराएको दिल्लीले अन्तिम खेल जित्दै दोस्रो स्थान पक्का गर्यो।
अब यिनै सिजनका दुई बलिया टिमबीच बिहीबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ। दुबईमा हुने खेलको विजेता फाइनलमा पुग्नेछ। हार बेहोर्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।
दुवै टिम पहिलो क्वालिफायर जित्दै फाइनल पुग्ने लक्ष्यमा छन्। मुम्बईका कप्तान रोहित शर्मा चोटपछि फर्किएका छन्। जसले मुम्बईलाई केही राहत मिलेको छ।
दुवै टिममा उत्कृष्ट बलरहरूको जमघट छ। पछिल्ला खेलको विश्लेषण गर्ने हो भने दिल्ली भन्दा मुम्बई बलियो देखिएको छ। चार पटकको च्याम्पियन मुम्बईले पछिल्ला पाँच प्लेअफमध्ये चार प्लेअफ जितेको छ। तर दिल्लीले अहिलेसम्म ६ प्लेअफ खेल्दा एक खेलमा मात्र जित हात पारेको छ।

जारी सिजनमा लिग चरणमा खेलिएका दुवै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो। पहिलो खेलमा मुम्बई पाँच विकेटले विजयी भएको थियो। दोस्रो खेलमा दिल्लीले खराब ब्याटिङ गर्दा ११० रन मात्र जोड्न सकेको थियो। जसमा मुम्बई ९ विकेटले विजयी भयो।
