असार १५ -वैदेशिक रोजगारीमा गएका भीमफेदी २ चुनियाका कर्णबहादुर पाख्रिन गत फागुनमा घर फर्किए। ७ वर्ष अघि पाख्रिन रोजगारीका लागि दुबई गएपछि उनकी श्रीमती सीतामायाले बाख्रापालन सुरु गरिन्। उनले यसबीचमा पटकपटक श्रीमान्लाई घर फर्कन र मिलेर बाख्रापालन गर्न आग्रह गरिन्। तर कर्णबहादुर मानेनन्।
७ वर्षपछि घर फर्कंदा उनले विदेशमा गरेको कमाइभन्दा चौगुणा बढी कमाइ सीतामायाले बाख्रा पालेर गरिसकेकी थिइन्। श्रीमतीले गरेको बाख्रापालन र यसको सफलता देखेर उनी अब दुबई नर्फकने निर्णयमा पुगेका छन्। कोरोना कहरकाबीच श्रीमतीसँगै मिलेर बाख्रापालन विस्तार गर्न कर्णबहादुर लागिपरेका छन्।
‘मैले फोनमाभन्दा त विश्वास गर्नु भएन तर अहिले घरमा बाख्रा पालेको देखेपछि श्रीमान् पनि यही काम गरेर बस्न राजी हुनुभएको छ’, सीतामायाले भनिन्। उनीसँग अहिले ब्रोयर जातका बाख्रा १ सय १० वटा छन्। उनले एउटै बोका ६ ७० हजार रुपैयाँसम्म बिक्री गरेकी छन्। प्रतिकेजी १ हजार रुपैयाँमा बोका बिक्री हुने गरेको छ। ‘हामी कोदो मकै रोप्दैनौं, बारीभरि उन्नत जातको घाँस लगाएका छौं’, सीतामायाले भनिन्, ‘८ जनाको परिवारले खाएर वर्षमा १० लाख बचत हुन्छ।’
उनीसँगै उन्नत जातको बाख्रापालन सिकेर ५० परिवारले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। सीतामायाका छिमेकी ठाकुरा खड्कालाई पनि खेतबारीमा काम गरेर वर्षभरि खान ठिक्क हुन्थ्यो। दुई भाइ छोराले विद्युत् प्राधिकरणमा नाम निकालेपछि ठाकुराम र उनकी श्रीमती मिठूले व्यावसायिक बाख्रापालन गर्ने निर्णय गरे।
पाँच वर्षदेखि ब्रोयर जातको बाख्रापालन गरिरहेका खड्का दम्पत्तिको कमाइ सरकारी नोकरी गर्ने २ छोरा र बुहारीको भन्दा राम्रो छ। ‘म बेला बेला भन्ने गर्छु छोराहरुलाई तिमीहरु र हाम्रो कमाइ दाजांै, कस्को राम्रो छ’, ठाकुरामले भने, ‘दुई छोरा र बुहारीले गरेको कमाइलाई हामीले बाख्रापालन गरेरै जितिरहेका छौं।’ उनले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी बाख्रा बेचेर बचत गर्दै आएका छन्।
FACEBOOK COMMENTS