काठमाडौं । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौं शंखरापुर नगरपालिका–६ बस्ने ३२ वर्षीय ख्याम बहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेम बहादुर लामा, काठमाडौं महानगरपालिका–२८ बस्ने १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका–२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेक बहादुर सुनार, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुल बहादुर श्रेष्ठ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जिवन लामा रहेका छन् ।
राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।