सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेल हुँदैछन् ।
आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् ।
आयोजकका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ । त्यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ ।
प्रतियोगिताअन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन् । पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तालिका रहेको छ ।
प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कांस्यसहित कुल ४५ पदक जित्दै पहिलो स्थान कायम गरेको छ । गैरआवासीय नेपाली संघ १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाली सेनाले ११ स्वर्ण, २० रजत र १९ कांस्यसहित सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४१ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित ९ पदक जितेको छ । कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्यसहित ६ पदक जित्दा सशस्त्र प्रहरी बलले ३ स्वर्ण, १ रजत र १ कांस्यसहित ५ पदक जितेको छ ।

लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित आठौँ स्थानमा छन् ।

मधेश प्रदेशले २ कांस्य पदक जितेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म कुनै पदक जित्न सकेको छैन ।
