काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि त्यहाँको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।
विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी हसिनाको स्वदेश फिर्तीको योजनाले बङ्गलादेश सरकारलाई चुनौती थपेको छ भने उनलाई आश्रय दिइरहेको भारतसमेत कूटनीतिक दबाबमा परेको छ ।
हसिनाले लामो समयदेखि आफू बङ्गलादेश फर्किने बताउँदै आए पनि यसपटक भने फर्किने मिति र सम्भावित यात्राको योजनासमेत सार्वजनिक गरेकी छन् । उनका प्रवक्ता तथा प्रमुख सहयोगीहरूले डिसेम्बर १६ मा बङ्गलादेशको विजय दिवसको अवसर पारेर उनी स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । सन् १९७१ मा पाकिस्तानमाथि बङ्गलादेशले विजय हासिल गरेको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ ।
सन् २०२४ अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको व्यापक आन्दोलनले हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेपछि उनी देश छाडेर भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् । आन्दोलनका क्रममा भएको हिंसात्मक दमनका लागि उनलाई जिम्मेवार ठहर गर्दै बङ्गलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाइसकेको छ । उनको अनुपस्थितिमा मुद्दाको सुनुवाइ गरिएको थियो । यद्यपि उक्त कानुनी प्रक्रियाको निष्पक्षतामाथि प्रश्नसमेत उठ्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट झन्डै एक हजार चार सय मानिसको मृत्यु भएको थियो । उक्त घटनापछि हसिनाको अवामी लिग पार्टीलाई बङ्गलादेशमा प्रतिबन्ध लगाइएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरू विदेशमा, जेलमा वा भूमिगत अवस्थामा रहेको बताइएको छ ।

मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने सरकारको चेतावनी

हसिनाले स्वदेश फर्किने घोषणा गरे पनि बङ्गलादेश सरकारले उनलाई सहज रूपमा प्रवेश गर्न दिने संकेत गरेको छैन । सरकारले उनी देश फर्किए तत्काल पक्राउ गर्ने र अदालतले सुनाएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायूँ कबिरले हसिनाको स्वदेश फिर्ती सामान्य यात्रुका रूपमा सम्भव नहुने बताएका छन् । ढाकामा पत्रकारहरूसँग कुरा गर्दै उनले हसिनालाई हतकडी लगाएर मात्रै फर्काउन सकिने आशय व्यक्त गरेका थिए । बङ्गलादेश सरकारले हसिनालाई भारतबाट सुपुर्दगी गर्नुपर्ने अडान राख्दै आएको छ । तर हसिनाको स्वेच्छिक स्वदेश फिर्ती र भारतले उनलाई सुपुर्दगी गर्ने विषयलाई फरक रूपमा हेरिएको छ ।

विमानबाट नभए स्थलमार्ग हुँदै फर्किने तयारी
हसिनाले बङ्गलादेश फर्किनका लागि भारतको राजधानी दिल्लीबाट हवाई यात्राको व्यवस्था मिलाइदिन बङ्गलादेश सरकारसँग अपेक्षा गरेको उनका सहयोगीहरूले बताएका छन् । यस्तो व्यवस्था हुन नसके नियमित व्यावसायिक उडान प्रयोग गर्ने वा स्थलमार्ग हुँदै बङ्गलादेश प्रवेश गर्ने विकल्पसमेत खुला राखिएको छ ।
हसिनाका प्रमुख सहयोगी अबु ओबैधा अरिनका अनुसार उनी आवश्यक परे पैदलै सीमापार गर्नसमेत तयार छिन् । उनका समर्थकहरूले भारत र बङ्गलादेशबीचको सीमाका नौवटा सम्भावित प्रवेशमार्ग पहिचान गरिसकेको दाबी गरेका छन् ।
भारत र बङ्गलादेशबीच करिब चार हजार ९६ किलोमिटर लामो सीमा छ । भारतका पश्चिम बङ्गाल, असम, मेघालय, त्रिपुरा र मिजोरम गरी पाँच राज्य बङ्गलादेशसँग जोडिएका छन् । यही लामो सीमा हसिनाको सम्भावित स्वदेश फिर्तीका लागि महत्त्वपूर्ण मार्ग बन्न सक्ने उनका सहयोगीहरूको भनाइ छ । अरिनले हसिनाको स्वदेश फिर्तीको योजना निकै सोचविचार गरेर तयार पारिएको दाबी गरेका छन् । तर उनी कुन मार्गबाट र कसरी फर्किन्छिन् भन्ने विषयमा अझै स्पष्टता छैन ।
५० लाख समर्थक परिचालन गर्ने अवामी लिगको दाबी
भारतमा निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्क कायम राखिरहेको उनका सहयोगीहरूले बताएका छन् । उनी टेलिग्राममार्फत अडिओ संवाद र बैठक गरेर पार्टीको संगठनलाई सक्रिय राख्ने प्रयासमा रहेको बताइएको छ ।

अरिनका अनुसार पछिल्लो १८ महिनामा हसिनाले ३०० भन्दा बढी यस्ता बैठक गरेकी छन् । ती बैठकमा बङ्गलादेशका ६४ जिल्ला र ३०० निर्वाचन क्षेत्रका पार्टी नेता तथा कार्यकर्ता सहभागी भएको उनको दाबी छ । अवामी लिगका ७८ वटा संगठनात्मक एकाइमार्फत यस्ता बैठक सञ्चालन हुने र कतिपय बैठक चारदेखि पाँच घण्टासम्म चल्ने गरेको उनले बताएका छन् ।
निर्वासनमा रहेर पनि पार्टीको संगठनलाई सक्रिय राख्न हसिनाले कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको अरिनको भनाइ छ । यसबाट स्थानीय तहमा पार्टीको अवस्था, कार्यकर्ताका गुनासा र राजनीतिक गतिविधिबारे जानकारी लिन सहज भएको उनले बताएका छन् । उनका अनुसार हसिना बङ्गलादेश फर्किने क्रममा सीमादेखि राजधानी ढाकासम्म मानवसाङ्लो बनाएर स्वागत गर्न ५० लाख मानिस परिचालन गर्न सकिने संगठनात्मक क्षमता अवामी लिगसँग छ । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
अवामी लिग बङ्गलादेशको पुरानो र ठूलो राजनीतिक दलमध्ये एक हो । प्रतिबन्धका बाबजुद पनि यसका लाखौँ समर्थक रहेको बताइन्छ । तर पार्टीको नेतृत्व विदेशमा, जेलमा वा भूमिगत अवस्थामा रहेकाले संगठनलाई पुन: पुरानै अवस्थामा फर्काउन चुनौती देखिएको छ ।
बङ्गलादेशमा बढ्दै राजनीतिक हिंसा र अस्थिरता
हसिनाको सम्भावित स्वदेश फिर्तीको चर्चा भइरहेका बेला बङ्गलादेशभित्र राजनीतिक तनाव र हिंसात्मक गतिविधि पनि बढिरहेका छन् । अवामी लिगका समर्थकहरूले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् । कतिपय प्रदर्शनका क्रममा प्रहरी चौकीमा आक्रमण, सवारीसाधनमा आगजनी, राजनीतिक नेताका घर तथा कार्यालयमा तोडफोड र सडक अवरुद्ध पार्ने गतिविधि भएका छन् ।
नोभेम्बर १७ मा अवामी लिगका कार्यकर्ताहरूको गिरफ्तारीपछि गोपालगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो । त्यहाँ प्रहरी चौकीमा आगजनी भएको विवरण सार्वजनिक भएको थियो । हसिनाको पुख्र्यौली जिल्ला गोपालगन्जमा सरकारी पक्षलाई सुरक्षा व्यवस्था कायम राख्न थप कठिनाइ भइरहेको बताइएको छ ।
द्वन्द्व तथा राजनीतिक हिंसाको अनुगमन गर्ने संस्था एक्लेडको तथ्याङ्कअनुसार नोभेम्बर २३ सम्म अवामी लिगका समर्थकहरूले ४० पटक विरोध प्रदर्शन र कम्तीमा १४० पटक दङ्गा गरेका छन् । यस महिनामा भएको राजनीतिक हिंसामा दुई सर्वसाधारणसहित कम्तीमा ११ जनाको मृत्यु भएको विवरण छ । तीमध्ये छ जनाको मृत्यु पछिल्लो अशान्तिसँग प्रत्यक्ष सम्बन्धित रहेको संस्थाले जनाएको छ ।
तर अवामी लिगका समर्थकले विरोध प्रदर्शन गर्न सक्नु मात्रै पार्टीको राजनीतिक पुनरागमनको प्रमाण नभएको विश्लेषकहरूको भनाइ छ । पार्टीमाथि प्रतिबन्ध, नेतृत्वको अभाव र हजारौँ कार्यकर्तामाथि मुद्दा दर्ता भएका कारण उसको आगामी राजनीतिक यात्रा अझै कठिन देखिन्छ ।
सरकारले अवामी लिगका गतिविधिलाई आतंकवादसँग जोडेर हेर्दै आएको छ । अर्कोतर्फ पार्टीका समर्थकहरूले आफ्ना प्रदर्शन शान्तिपूर्ण रहेको र सरकारले राजनीतिक प्रतिशोधका आधारमा दमन गरिरहेको आरोप लगाउँदै आएका छन् । यसले बङ्गलादेशमा राजनीतिक ध्रुवीकरण थप गहिरिँदै गएको देखाउँछ ।
राजनीतिक विभाजनको फाइदा उठाउन खोज्दै अवामी लिग
बङ्गलादेशको पछिल्लो राजनीतिक परिस्थितिमा सत्तारूढ बङ्गलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र युवाहरूको नेतृत्वमा रहेको न्याश्नल सिटिजन पार्टी ९(एनसीपी) बीच पनि मतभेद देखिएको छ ।
संविधानमा प्रस्तावित परिवर्तन र जनमतसङ्ग्रहका विषयमा यी राजनीतिक शक्तिहरूबीच असहमति रहेको बताइएको छ । विद्यार्थी आन्दोलनका बेला हसिनाको शासन अन्त्य गर्न एकजुट भएका शक्तिहरूबीच अहिले विभिन्न राजनीतिक तथा संवैधानिक मुद्दामा दूरी बढ्दै गएको छ ।
बङ्गलादेशका पूर्वअन्तरिम सरकारका प्रेससचिव तथा डेली स्टारसँग सम्बन्धित राजनीतिक विश्लेषक शफिकुल आलमले अवामी लिगले यही राजनीतिक विभाजनको फाइदा उठाउन खोजिरहेको बताएका छन् । उनका अनुसार कमजोर प्रहरी संयन्त्र र आन्दोलनमा सहभागी राजनीतिक शक्तिहरूबीच बढेको मतभेदले अवामी लिगलाई पुन: सडकमा सक्रिय हुने अवसर दिएको छ ।
हसिनाको स्वदेश फिर्तीको घोषणाले पनि पार्टीलाई राजनीतिक बहसको केन्द्रमा ल्याउन सहयोग गरेको विश्लेषण गरिएको छ । उनको सत्ता ढलेपछि अवामी लिगको भविष्यबारे सार्वजनिक रूपमा छलफल गर्नसमेत कठिन अवस्था बनेको थियो । अहिले भने पार्टीको आगामी भूमिका र बङ्गलादेशको राजनीतिमा उसको स्थानबारे पुन: बहस सुरु भएको छ ।
हसिनाका कारण भारत–बङ्गलादेश सम्बन्ध थप जटिल
हसिनालाई शरण दिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन् । उनको नेतृत्वको सरकारले भारतसँग सुरक्षा, व्यापार तथा क्षेत्रीय सहकार्यका विषयमा निकट सम्बन्ध कायम राखेको थियो ।
तर सन् २०२४ को आन्दोलनपछि हसिनाले भारतमा शरण लिएसँगै दुई देशबीचको सम्बन्धमा नयाँ समस्या उत्पन्न भएको हो । बङ्गलादेशले उनलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ भने भारतले उक्त अनुरोधलाई स्थापित प्रक्रियाअनुसार अध्ययन भइरहेको जनाएको छ ।
भारतले बङ्गलादेशसँग सम्बन्ध सुधार गर्न कूटनीतिक पहलसमेत गर्दै आएको छ । सुरक्षा, व्यापार, सीमा व्यवस्थापन र अन्य द्विपक्षीय विषयमा नयाँ वार्ताका प्रस्ताव अघि सारिए पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार सम्हालेको करिब १० महिना बितिसक्दा पनि भारत भ्रमण गरेका छैनन् । यसअघि अगस्टमा उनको भारत भ्रमणको तयारी भइरहेको बताइएको थियो । तर दिल्लीमा हसिनाले गरेको पत्रकार सम्मेलनका कारण दुई देशबीच सम्बन्ध सुधारको प्रयास प्रभावित भएको विश्लेषण गरिएको छ ।
भारतले बङ्गलादेशसँग सम्बन्ध सुधार गर्न खोजे पनि हसिनाको उपस्थितिले कूटनीतिक प्रयासलाई कठिन बनाइरहेको छ । भारतमा बसेर उनले बङ्गलादेशको राजनीतिबारे सार्वजनिक अभिव्यक्ति दिँदै आएकी छन् । यसले ढाकाको असन्तुष्टि थप बढाएको छ ।
भारतका लागि हसिनालाई लिएर दोहोरो चुनौती
बङ्गलादेशका लागि भारतसँगको सम्बन्ध अहिले केवल हसिनाको सुपुर्दगीमा सीमित छैन । व्यापार, पारवहन सुविधा, सीमा सुरक्षा र गङ्गा जल सम्झौताजस्ता विषयसमेत दुई देशबीचको सम्बन्धमा जोडिएका छन् ।
बङ्गलादेशका राजनीतिक तथा परराष्ट्रनीति विश्लेषकहरूका अनुसार भारतले अवामी लिगलाई पुन: राजनीतिक प्रक्रियामा फर्काउन चाहेको आशङ्का ढाकामा बढ्दै गएको छ । भारतले बङ्गलादेशी तयारी पोसाक निर्यातकर्ताका लागि उपलब्ध गराउँदै आएको पारवहन सुविधालाई निरन्तरता नदिएको तथा गङ्गा जल सम्झौतामा अपेक्षित प्रगति नभएको विषय पनि असन्तुष्टिका रूपमा उठाइएको छ ।

अहिलेसम्म पर्यटन र स्वास्थ्योपचारका लागि दिइने भिसा पुन: सुरु भए पनि अन्य विषयमा अनिश्चितता कायम रहेको बङ्गलादेशी पक्षको भनाइ छ । यद्यपि भारतका लागि अवामी लिगलाई बङ्गलादेशको राजनीतिबाट पूर्ण रूपमा बाहिर राखिनु पनि दीर्घकालीन हितमा नहुने विश्लेषकहरूको धारणा छ । बङ्गलादेशको सामाजिक तथा राजनीतिक संरचनासँग जोडिएको ठूलो दललाई पूर्ण रूपमा निषेध गर्दा मुलुकमा थप अस्थिरता उत्पन्न हुन सक्ने उनीहरूको तर्क छ ।
एसओएएस युनिभर्सिटी अफ लन्डनका राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक अविनाश पालीवालका अनुसार अवामी लिगलाई फरक नेतृत्वअन्तर्गत पुन: राजनीतिक प्रक्रियामा सहभागी गराउने र हसिनाले आन्दोलन दमनसम्बन्धी मुद्दाको कानुनी प्रक्रियाको सामना गर्ने अवस्था सिर्जना हुनु भारतका लागि कम जोखिमपूर्ण विकल्प हुन सक्छ ।
उनका अनुसार त्यसले बङ्गलादेशको राजनीतिमा केही सन्तुलन कायम गर्न र भारतलाई आफ्नो दीर्घकालीन हित सुरक्षित गर्ने अवसर दिन सक्छ ।
डिसेम्बरमा अशान्ति बढ्ने आशङ्का
हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरे पनि उनी निर्धारित मितिमै फर्किन्छिन् भन्ने निश्चित भइसकेको छैन । मृत्युदण्डको फैसला सामना गरिरहेकी हसिनाका लागि स्वदेश फर्किनु निकै जोखिमपूर्ण देखिन्छ । अर्कोतर्फ उनको घोषणाले अवामी लिगका समर्थकलाई उत्साहित बनाएको छ । एक्लेडकी दक्षिण एसिया विश्लेषक पर्ल पाण्ड्याका अनुसार हसिना फर्किने सम्भावना कम छ, किनभने उनले मृत्युदण्डको सामना गर्नुपर्ने अवस्था छ । तर उनको अभिव्यक्तिले पार्टीका समर्थकलाई सक्रिय बनाएको छ ।
बङ्गलादेशका परराष्ट्रनीति विज्ञहरूले डिसेम्बरमा विरोध प्रदर्शन र झडप बढ्न सक्ने चेतावनी दिएका छन् । हसिनाको प्रस्तावित स्वदेश फिर्तीको मिति नजिकिँदै जाँदा ढाकामा राजनीतिक र सुरक्षा तनाव बढ्न सक्ने उनीहरूको आकलन छ । यद्यपि अन्तिम समयमा उनको स्वदेश फिर्तीको योजना फेरि स्थगित हुन सक्ने सम्भावना पनि औँल्याइएको छ ।
हसिनाको घोषणाले अहिले बङ्गलादेशको आन्तरिक राजनीतिलाई मात्रै प्रभावित गरेको छैन, भारतसँगको सम्बन्धलाई समेत थप जटिल बनाएको छ । उनी फर्किएमा देशभित्र राजनीतिक हिंसा बढ्ने जोखिम छ भने भारतमै रहिरहे दुई देशबीचको कूटनीतिक तनाव लम्बिने देखिन्छ ।