काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतामा जोड दिइएको बताएका छन् ।
नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभामा यस्तो बताए । उनले सेयर बजार, विदेशी विनिमय, सुधार र सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने बताए ।
अहिले विदेशी मुद्रा सञ्चिति र तरलता बढेको उल्लेख गर्दै आगामी वर्षका लागि स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । साथै बैंकहरूले मौद्रिक नीतिअनुसारका उत्पादन ल्याउन, कृषि तथा साना–मझौला उद्योगमा लगानी बढाउन, उद्यमीलाई प्रोत्साहन गर्न र शीर्ष तहभन्दा तल्लो तहका साना व्यवसायी तथा सर्वसाधारणमा केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा संघद्वारा बैंकिंग क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्याक्तित्वको रुपमा सम्मानित संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले चार दशकको बैंकिङ यात्रालाई सम्झँदै यो उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए । उनले नेतृत्वको वास्तविक मापन पद र संस्था नभइ आफ्नो पुस्ताले अर्को पुस्तालाई के हस्तान्तरण गर्छ भन्ने कुराले हुन्छ बताए ।
अहिलेको कठिन आर्थिक चरण बढ्दो निष्क्रिय कर्जा र सुस्त आर्थिक गतिविधिलाई सिक्ने र सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गरे । साथै नीतिगत र भूराजनीतिक अनिश्चितताबीच पनि वृद्धि र विवेकशीलता, नवप्रवर्तन र सुशासनबीच सन्तुलन कायम राख्न सकेका संस्था नै दिगो रूपमा सफल हुने उनको धारणा थियो । उनले बैंकरहरू, सञ्चालक, लगानीकर्ता र नीति निर्मातालाई संस्थाको दीर्घकालीन स्वास्थ्य र अर्थतन्त्रलाई केन्द्रमा राख्न, ठूला मात्र नभई राम्रा बैंक बनाउन तथा विश्वासमा कहिल्यै सम्झौता नगर्न आह्वान गरे ।

संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रप्रति जनविश्वास अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि तथा साना–मझौला उद्योगमा लगानी विस्तार, वित्तीय स्थिरता कायम राख्ने र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै अघि बढ्ने बताए । साथै बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन संवादमार्फत सबै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

