भक्तपुर । सांस्कृतिक सहर भक्तपुरको सल्लाघारी मैदानमा शनिबार मंसिर १२ गते आयोजित ‘एक्स्ट्रिम म्युजिक जात्रा–ख्वपः’ भव्य रूपमा सम्पन्न भएको छ।
लुपिक्स इन्टरटेनमेन्टको आयोजना तथा दृष्टिकोण मिडिया र दी रोयल इभेन्ट्सको सहआयोजनामा सम्पन्न महोत्सवमा ३५ देखि ४० हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थिति रहेको थियो। भक्तपुरको सांगीतिक तथा सांस्कृतिक इतिहासमा नै यो अहिलेसम्मकै विशाल जनसहभागिता मानिएको छ।
कार्यक्रममा युवापुस्ताको मात्र नभई साना बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र सिङ्गो परिवारको समेत उत्साहजनक सहभागिता रहेको थियो। सबै उमेर र वर्गका दर्शकहरू अटाएको समावेशी तथा पारिवारिक माहौलमा दर्शकहरू दिनभर संगीत र संस्कृतिमा झुमेका थिए। चर्चित उद्घोषिका सुजाता श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेकी थिइन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा चर्चित गायक कुमा सागर एण्ड द ख्वप ब्यान्डको प्रस्तुति रहेको थियो। कुमा सागरको आफ्नै गृहनगर भक्तपुरमा यो पहिलो कन्सर्ट भएकाले स्थानीय दर्शकहरूमा विशेष उत्साह देखिएको थियो। आफ्नै माटोमा कुमा सागरको प्रस्तुति हेर्न ओइरिएको भिड र हुटिङले सल्लाघारी मैदान गुञ्जायमान बनेको थियो।
त्यस्तै, नेपाली रक संगीतको धरोहर मानिने चर्चित ब्यान्ड मुक्ति एण्ड रिभाइभलले आफ्नो सांगीतिक यात्राको ३० वर्ष पूरा गरेको अवसरमा यसै मञ्चबाट विशेष वार्षिकोत्सव मनाएको छ। ब्यान्डका सदाबहार गीतहरूमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए। महोत्सवमा निभा डंगोल र चाबहि दबुको दमदार सांगीतिक प्रस्तुतिसँगै भक्तपुरको मौलिक पहिचान झल्काउने नेवारी सांस्कृतिक नृत्यले कार्यक्रमको रौनक अझ बढाएको थियो।

यस म्युजिक फेस्टिभलको अर्को रोचक पक्ष यसको प्रवेश व्यवस्था रहेको थियो। आयोजकले टिकटको सट्टा एक्स्ट्रिम इनर्जी ड्रिंकको खाली क्यान लिएर आउने दर्शकलाई प्रवेशको व्यवस्था मिलाएको थियो। सोही अनुसार हजारौँ दर्शकहरू हातमा एक्स्ट्रिमको खाली क्यान बोकेर सल्लाघारी मैदानमा प्रवेश गरेका थिए।

संगीत, संस्कृति र समावेशी माहोलको अद्भुत संयोजन रहेको यस महोत्सवले भक्तपुरमा ठूला स्तरका सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूको नयाँ मानक स्थापित गरेको छ।
