सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १:१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो । उपचारका क्रममा दिउँसो २:१५ बजे चिकित्सकले जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मृतककी ३८ वर्षीया श्रीमती प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय अतर्व भट्टराई घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
