लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निषेधित स्थानमा सञ्चालन गरिएका पसलहरू हटाउन शुरु गरेको छ ।
लुम्बिनी विकास कोषले मंसिर १० गते जारी गरेको सार्वजनिक सूचनाअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा राखिएका पसल हटाइएको हो ।
कोषले मंसिर ११ गतेदेखि लागू हुने गरी २४ घण्टाभित्र पसल हटाउन अनुरोध गरेको थियो । लुम्बिनीको पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्दै गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पसल हटाइएको कोषले जनाएको छ ।
कोषले आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ । सूचनाविपरीत पसल सञ्चालन गरी सामान हटाउन अटेर गरेमा प्रचलित कानुनअनुसार सामान जफत गरिने जनाएको छ ।