काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधारशिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरे । रङ्गीचङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट) हरू उक्त भिडिओमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ– आधारशिविर यतिखेर विश्वको सुन्दर गाउँको रूपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधारशिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।
‘सगरमाथा आधारशिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्,’ सगरमाथा आधारशिविरमा रहेका पर्वतारोही लाक्पा शेर्पाले भने, ‘आधारशिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’ ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमान तोडेर ३१औँ आरोहणका लागि सगरमाथा पुगेका हुन् । आधारशिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुलीझैँ सिँगारिएको छ ।
समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सयभन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधारशिविरमा छन् । एटके एक्सपिडिशन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी–विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताए ।
सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउँछन् । ‘सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ,’ उनले भने ।
केही दिनयता सामाजिक सञ्जालमा चाँदीझैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बीर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ । यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।
लुक्लादेखि सगरमाथा आधारशिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरूको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधारशिविरको वातावरण उल्लासमय बनेको बताए । ‘वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ,’ उनले भने ।
सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटेक कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधारशिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए ।
तेस्रो शिविरसम्म बाटो खुल्यो
यो सिजनमा सगरमाथामा आरोहणका लागि आधारशिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एपीसीसी) ले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता–१० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।
सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ ।
सगरमाथा चढ्न चार सय बढी आरोही
पर्यटन विभागका अनुसार आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिए । त्यसमध्ये ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कुल चार सय १४ जनाले अनुमति लिएका थिए । यस वर्ष विभिन्न हिमाल आरोहणबाटबापत ६८ करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । आरोही आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।
सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।
यो सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चार पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्केका छन् । सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँ–नयाँ कीर्तिमान थपिने क्रम जारी छ ।
–सीबी अधिकारी/रासस
FACEBOOK COMMENTS