काठमाडौं, २८ असोज – भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे अर्को महिना नेपाल भ्रमणमा आउने भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नरावणे नेपाल आउन लागेको बुधबार विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो।
उनी कात्तिक महीनाभित्र नेपाल आउने कार्यक्रम तय भएको निर्देशनालयले जनाएको छ। सरकारले गएको २० माघ २०७६ को मन्त्रिपरिषद् बैठकबाटै नरावरणेको नेपाल भ्रमणसम्बन्धी निर्णय गरेको थियो। तर, त्यसलगत्तै शुरु भएको कोरोनाभाइरस संक्रमणको महामारी र बन्दाबन्दीका कारण भ्रमणपछि सरेको सेनाले उल्लेख गरेको छ।
यद्यपि उनको भ्रमण पछि सर्नुमा बन्दाबन्दी भन्दा लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयले काम गरेको चर्चा पनि हुने गरेको छ। भारतले यी नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेपछि र त्यहाँ सडकसमेत बनाएपछि नेपाल सरकारले यी भूभाग आफ्नो भएको नयाँ नक्सा सार्वजनिक गरेको थियो।
नरावरणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी (प्रधानसेनापति)को दर्ज्यानी प्रदान गर्ने कार्यक्रमसमेत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
FACEBOOK COMMENTS