असार २१ – बैतडीमा सबैभन्दा बढी उत्पादन हुने मुख्य बाली मकैमा यो वर्ष सलह र फौजीले प्रकोपमा पारेको छ ।
गत जेठमा मकै छरेर उम्रने बेला फेदकटुवा कीराले दुःख दिएको थियो भने अहिले फौजी कीराको प्रकोप बढेको किसानको गुनासो छ । असार दोस्रो साता सलहसमेत देखापरेपछि बैतडीका किसान थप चिन्तित भएका छन् ।
बैतडीको ढोल्या गाउँ आइपुगेको सलहले सुर्नया गाउँपालिका–८, ढोल्यामा मकै बाली सखाप पारेको छ । सलह ढोले गाउँको तल्लो ढोले, मल्लो ढोले, रातापानी, परिगाउँका दुई सयभन्दा बढी किसानको मकै बारीमा पसेको स्थानीय तेजबहादुर बोहराले बताउनुभयो ।
सलहले मकैको पात खान थालेको बाताउँदै बोहराले भन्नुभयो, “हामीले त यसअघि कहिल्यै सलह देखेका थिएनौँ । मकै बारीमा पस्नेबित्तिकै यसले त पूरै पात खाने रहेछ । भगाउने उपाय पनि केही छैन । कृषि प्राविधिक पनि आएका छैनन् । ”
बैतडीमा सलहभन्दा बढी फौजी कीराले जिल्लाभरि मकै सखाप पारेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
चन्दले भन्नुभयो, “यो वर्ष मकैमा महामारी नै देखियो । फौजी कीराले मकैको बोट खान थालेपछि चार हजार विषादीका पाकेट गाउँ पठाएका छौँ । कृषि ज्ञान केन्द्रमा जनशक्ति पनि अभाव छ । जिल्लाभरि सलहभन्दा बढी फौजी कीराको आतङ्क छ । धेरै ठाउँ जान सकिएको छैन । यस्तै अवस्था रहने हो भने नियन्त्रण गर्न सकिने स्थिति छैन । ”
बैतडीमा वार्षिक २९ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यो वर्ष सलह र फौजी कीराले उत्पादन ह्वात्तै घट्ने र भोकमरीको अवस्था सिर्जना हुनसक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
बैतडीमा वार्षिक ५८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । कुल खाद्यान्नको आधा हिस्सा मकैबाट पूर्ति हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । सलह र फौजी कीराले यो वर्ष मकै उत्पादन ५० प्रतिशतभन्दा बढी घट्नसक्ने डरलाग्दो अवस्था देखिएको चन्दले बताउनुभयो ।
फौजी कीरा नियन्त्रण गर्न जिल्लाभरि इमामेक्टिन बेन्जोइड नामक विषादी छर्किने काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएकोे छ । फौजी कीरा बैतडीका १० वटै स्थानीय तहमा फैलिएकाले प्राविधिक कर्मचारी नहुँदा सबै ठाउँमा पुग्न सकिने अवस्था नरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
१६ जनाको दरबन्दी रहेको कृषि ज्ञान केन्द्रमा तीन वर्षदेखि जम्मा चार जना मात्र कर्मचारी कार्यरत छन् ।
उन्नत जातको मकैमा बढी आक्रमण
कृषि ज्ञान केन्द्र बैतडीले जिल्लाभरि स्थानीय र उन्नत जातको दुवै थरी मकैमा फौजी कीराले आक्रमण गरे पनि उन्नत जातको मकैको बोट बढी पोसिलो र नरम हुने भएकाले त्यसमा बढी क्षति पु¥याएको जानकारी दिएको छ ।
बैतडीमा स्थानीय जातको ठूलो धौलो र सानो धौलो÷रातो मकै लगाउने पुरानो चलन रहे पनि पछिल्लो समय उत्पादन वृद्धि गर्न उन्नत जातको मनकामना, देउती र रामपुर जातको मकैको बीउलाई प्राथमिकता दिने गरिएको छ ।
१२ हजार हेक्टरमा हुने मकै खेतीमध्ये करिब ३० प्रतिशत उन्नत जातको मकै खेती रहेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।
उन्नत जातको मकैमा युरियाजस्ता मलखादको आवश्यकता पर्ने भए पनि बैतडीमा अझै ७० प्रतिशत मकै खेती गोठेमल मात्र प्रयोग गरेर हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहले उत्पादनमा जोड दिने भनेर उन्नत जातको मकैको बीउ आयात गरेर वितरण गरे पनि बैतडीका ७० प्रतिशत किसानले गोठेमल प्रयोग गरेर उत्पादन भएको मकैलाई अर्गानिक घोषणा गर्न सकेका छैनन् ।
FACEBOOK COMMENTS