काठमाडौं, पुस २९ – पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोलामा ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि आज (बुधवार) सम्झौता गरिएको छ ।
मनहरी गाउँपालिका तथा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच आज सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।
गाउँपालिकाको लागि टार र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् ।
हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटौंडा उपमहानगरपालिका भएर मनहरी गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ ।
FACEBOOK COMMENTS