काठमाडौं, कात्तिक ५ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् भने मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
महासंघ निर्वाचन समितिले बुधबार जारी गरेको सूचनाअनुसार मंसिर ११ र १२ गते साधारणसभा तथा १३ गते निर्वाचन हुनेछ । सूचनामा आजदेखि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्ने छन् ।
इमेलबाटै मनोनयन दाखिला गर्न सकिने र त्यसको सक्कल कागजात भने मंसिर ४ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । उम्मेदवारको नामावली सोही दिन प्रकाशन हुनेछ । यस्तै, मतदान गर्न पाउने सदस्यहरुको नामावली मंसिर २ गते प्रकाशन हुनेछ भने त्यसको भोलिपल्टसम्म नामावलीमाथि दावी विरोध गर्न पाइनेछ ।
सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सोही दिन उम्मेदवारको नामावलीविरुद्ध दावी विरोध तथा तेस्रो नामावली प्रकाशन हुनेछ । मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय मंसिर ६ गतेदेखि ८ गतेलाई तोकिएको छ ।
मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने तथा १३ गते बिहान निर्वाचन भइ निर्वाचन सम्पन्न भएलगत्तै गणना गरी नतिजा घोषणा गरिने उल्लेख छ ।
FACEBOOK COMMENTS