काठमाडौं, फागुन ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको राप्ती नदीको पुलको शिलालेख तोडफोड भएको छ।
दाङ देउखुरी उपत्यकाको दुई गाउँपालिका राप्ती र गढवा जोड्ने पुलको प्रधानमन्त्रीले निर्माण सम्पन्न भएको एक वर्षपछि उद्घाटन गरेका थिए ।
शिलालेख कसले र किन तोडफोड गरेको भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले सेतोपाटीलाई जानकारी दिए। भट्टका अनुसरा प्रहरीलाई शनिबार मात्रै पुलको शिलालेख तोडफोड भएको सूचना प्राप्त भएको बताए।
‘हामीलाई शनिबार मात्रै शिलालेख तोडफोड भएको बारे सूचना प्राप्त भएको थियो,’ भट्टले भने, ‘त्यसपछि म घटना अनुसन्धानमा जुटेको छु। शनिबार आएको म आइतबार पनि यतै छु।’
उनले फागुन ५-६ गतेतिर पुल तोडफोड भएको हुनसक्ने आशंका गरे।
भट्टले शिलालेख तोडफोड गर्ने उच्छृङ्खल र अराजक ब्यक्ति पहिचान गरि कारबाहीको दायरामा ल्याउने बताए।
शिलालेख तोडफोडपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।
‘शिलालेख तोडफोड र चोरीले विकासका आयोजनाको प्रतिफल समाप्त हुने होइन,’ उनले लेखेका छन्, ‘अनि विकासको कामले जनताको मनमा गढेको माया हराउने नि होइन।’
प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड बारे अनेक तर्क बितर्क भइरहेका छन्। कतिपय सामान्य धारणा बनाउनेले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०७३ साल मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। पुल उद्घाटन हालका प्रधानमन्त्री ओलीले गरे । तर, यतिखेर नेकपा बिभाजनको संघारमा रहेको हुँदा प्रचण्ड निकटका मानिसहरुले पनि शिलालेख तोडफोड गरेको हुनसक्ने आशंका ब्यक्त गरे ।
तर, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि त्यो गलत तर्क भएको बताए ।
आफ्नो ठाउँको नाम नपरेकोमा स्थानीय असन्तुष्ट थिए – वडाध्यक्ष चौधरी
नेपालकै दोस्रो लामो राप्ती पुलको सम्पूर्ण भाग गढवा गाउँपालिकाको वडा नं. २ महादेवाको मौजामा अवस्थित छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको शिलालेखमा त्यस ठाउँको नाम सिसहनीया लेखिएको थियो। सिसहनीया राप्ती गाउँपालिका अन्तर्गत पर्छ ।
गढवा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भक्तु चौधरीले महदेवालाई सिसहनीया लेखिएकोमा स्थानीय असन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
‘त्यसभन्दा ४-५ सय मिटर उत्तरको सानो कुलोमा निर्मित पुल उत्तर महदेवामा पर्छ भने त्यसभन्दा दक्षिणको राप्तीको पुलमा कसरी सिसहनीया लेखिएको हो,’ वडाध्यक्षले प्रश्न गरे, ‘मेरो विचारमा आफ्नो ठाउँमा निर्मित पुलमा अरूको ठाउँको नाम लेखिएको हुँदा शिलालेख तोडफोड भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।’
त्यसअघि स्थानीयले शिलालेखको नाम सच्याउन आफूलाई आग्रह गरेको र आफूले सम्बन्धित निकायलाई उक्त कुरा अवगत गराएको भए पनि सुनुवाई नभएको वडाध्यक्ष चौधरीले सेतोपाटीलाई बताए।
‘मैले पुल उद्घाटन हुनुभन्दा पहिल्यै त्यो कुरा स्थानीय नेता र पुल निर्माण कम्पनीलाई भनेको थिएँ। तर, त्यसको बेवास्ता भयो,’ चौधरीले भने, ‘समयमै नाम सच्चाएको भए सायद आज शिलालेख यति छिट्टै तोडफोड हुने थिएन कि?’
नेपालकै दोस्रो लामो पुल निर्माण भएपछि सर्वसाधारण स्थानीय खुसी भए पनि आफ्नो ठाउँको नाम त्यसमा अंकित नगरी अर्कै नाम लेखिएको प्रति दुःखी रहेको वडाध्यक्ष चौधरीले बताए ।
‘विदेशमा रहेका हाम्रा गाउँ ठाउँका मानिसले पनि समाचार हेरेछन्, युट्यूवमा खोजेछन्,’ उनले भने, ‘त्यसमा महदेवा हुनुपर्नेमा सिसहनीया लेखिएकोमा बिदेशमा भएकाले पनि आक्रोश पोख्दै आएका थिए। त्यसैको परिणाम शिलालेख फोडिएको हुनुपर्छ।’
वडाध्यक्ष चौधरीले आफ्नो ठाउँको नाम आओस्, पहिचान स्थापित होस भन्ने चाहाना राख्नुलाई अन्यथा नलिन आग्रह पनि गरे।
शिलालेख ४/५ दिन अघि तोडफोड भएको भन्ने खवर आफूले पाए पनि शनिबार त्यहीँ पुल भएर हिँड्ने क्रममा आफूले तोडफोड भएको अवस्थामा देखेको उनले बताए।
स्थानीयको असन्तुष्टिका बारेमा पुल निर्माण कम्पनीका सुपरभाईजर लक्ष्मण ढकालले पुल उद्घाटन र शिलालेख तयार पार्न आफूहरूको कुनै भूमिका नरहने स्पष्ट पारे।
उद्घाटन र शिलालेख निर्माण गर्ने काम सरकारको भएकाले त्यसमा पुल निर्माण कम्पनीको कुनै भूमिका नरहने हुँदा आफूहरूलाई विवादमा नतान्न उनले आग्रह गरे।
‘हाम्रो काम भनेको निर्माण गर्ने हो, निर्माण र उद्घाटन फरक कुरा हो,’ उनले भने।
झन्डै एक अर्ब लगानीमा निर्मित पुल पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ।
सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई रोक लगाइएको थियो।
पुल निर्माण भएको ठाउँ लुम्बिनी प्रदेशको केन्द्र तोकिएको ठाउँसमेत हो । जसले सिसहनिया–महादेवा जोड्ने गर्छ।
यो नेपालकै दोस्रो लामो पुल हो। यसले राप्ती गाउँपालिकाको सिसहनीया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गर्छ।
FACEBOOK COMMENTS