काठमाडौं, फागुन १९- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आज(सोमबार) अस्पताल भर्ना गरिँदै छ ।
आगामी बुधबार प्रधानमन्त्री ओलीको नेपाली चिकित्सकहरुको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि आज नै प्रधानमन्त्री महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनेछन् ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए । ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ट्विट गर्दै मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका हुन् ।
मोदीले भनेका छन्, मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्।
FACEBOOK COMMENTS