काठमाण्डौँ — युएई र ओमान नेपालसँग श्रम सम्झौता गर्न सकारात्मक भएका छन्।
केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा ओमान र यूएई श्रम सम्झौताका लागि सकारात्मक रहेको धारणा राखेका थिए।
मन्त्रालयले दुवै देशको वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने गरी श्रम सम्झौता गर्न युएई र ओमान तयार रहेको जनाएको छ।
मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको पाँच सदस्यीय टोलीले जनवरी २७ र २८ मा ओमान तथा ३० र ३१ मा युएईसँग वार्ता गरेको थियो।
दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभूति गर्ने एवं सुरक्षा र असल कार्यवातावरण सुनिश्चित हुनुपर्ने प्रस्ताव गरेको छ।
श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुँच हुनुपर्ने लगायतका विषय पनि श्रम समझदारीमै सुनिश्चित गर्नु पर्ने प्रस्ताव गरेको नेपाली टोलीका संयोजक सहसचिव घिमिरेले बताए।
— अन्नपुर्ण
FACEBOOK COMMENTS