प्रदेश गौरवको आयोजनाका रूपमा रहेका भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि वाग्मती प्रदेश सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सुरुङमार्गका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत अर्थ विविध शीर्षकमा एक अर्ब रुपैयाँ बजेट छुट्याएको हो ।
तीन वर्षभित्र बनाइसक्ने लक्ष्यसहित १५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि आगामी आर्थिक वर्षका लागि एक अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । संघीय सरकारको सहलगानीमा बन्ने यो सुरुङमार्गका लागि संघीय सरकारले आगामी आवका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।
वाग्मती प्रदेश सरकारले सुरुङमार्गकै लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा ३ करोड ६० लाख रुपैयाँ थप छुट्याएको छ । मन्त्रालयअन्तर्गत नै सुरुङमार्ग निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुरुङमार्ग निर्माण आयोजनाका लागि १ करोड रुपैयाँ, आयोजनाका लागि आवश्यक इन्जिनियरिङ तथा अन्य मेसिनरी औजार, ल्याबका सामग्री खरिदका लागि २० लाख रुपैयाँ, डिजाइन रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ, प्रोक्युरमेन्ट डकुमेन्ट रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ र मदन भण्डारी मार्ग र सुरुङमार्ग निर्माणका लागि मुआब्जा वितरण गर्न एक करोड रुपैयाँ छुट्याइएको छ ।
चालु आवमै सुरुङमार्गको टेन्डर आह्वान गर्ने मन्त्रालयको तयारी छ । विभिन्न अध्ययन अन्तिम चरणमा पुगेको भन्दै मन्त्रालयका सचिव तेजराज भट्टले चालु आवको अन्त्यसम्ममा टेन्डर आह्वान हुने बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायत केही प्राविधिक परीक्षणहरूको अध्ययन अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यो अध्ययन सकिनेबित्तिकै टेन्डर आह्वान हुन्छ ।’ प्रदेश सरकारले वैशाखभित्रै टेन्डर आह्वान गर्ने भने पनि अहिलेसम्म प्राविधिक अध्ययन नसकिएपछि प्रक्रिया अनिश्चित बनेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री फुयालले भने सुरुङमार्गका लागि बजेटको अभाव नहुने दाबी गरे । ‘यो प्रदेश सरकार एक्लैले बनाउने आयोजना होइन । यसमा संघीय सरकारको पनि सहलगानी रहनेछ,’ उनले भने, ‘टेन्डर प्रक्रिया तत्काल सुरु हुन्छ । र, निर्माण सुरु भएपछि यसमा बजेट अभाव हुनेछैन ।’
संघीय सरकारले आगामी आवको बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सहकार्य गर्ने उल्लेख गरेको छ । संघीय सरकारले आव ०७७र७८ को बजेटमा प्रदेश सरकारसँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन पूरा गरी काम सुरु गर्ने उल्लेख छ । भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतिसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ । वाग्मती प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई प्रदेश गौरवको आयोजना घोषणा गरेको छ । सुरुङमार्ग निर्माणका लागि प्रदेशले संघीय सरकारसँग सहकार्यका लागि यसअघि नै आग्रह गरेको थियो ।
सुरुङमार्गको प्राविधिक अध्ययन गरिरहेको टोलीले तीन वर्षमा बनिसक्ने गरी सुरुङमार्गको निर्माणको काम सुरु हुने जनाएको छ । ‘सुरुङमार्गको लम्बाइ २।२५ किलोमिटर हुनेछ,’ यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले भने, ‘११ मिटर फराकिलो सुरुङमार्ग २ लेनको हुनेछ । आपत्कालीन अवस्थामा प्रयोग हुने गरी सँगै ५ मिटर फराकिलो अर्को सुरुङमार्ग पनि बन्नेछ ।
FACEBOOK COMMENTS