काठमाडौं, वैशाख २४ – विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले भोलि (वैशाख २५ गते) आफ्नो स्थापना दिवस अर्थात् दोस्रो वार्षिकोत्सव मनाउने भएको छ । कोरोना भाइरसको महामारीबीच आयोगले ‘जुम अनलाइन’मार्फत विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको हो ।
भोलि शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने वार्षिकोत्सव विशेष समारोहमा आयोगले हालसम्म प्राप्त गरेको उपलब्धि, वर्तमान अवस्था तथा भावी कार्यक्रमसम्बन्धी प्रस्तुतीकरण गर्ने भएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्राप्त शुभकामना मन्तव्य पनि कार्यक्रममा वाचन गरी सुनाउने बताइएको छ ।
आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहको सभापतित्व तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा ऊर्जासचिव देवेन्द्र कार्की विशेष अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली विशिष्ट अतिथिका रूपमा रहने छन् ।
अनलाइनमार्फत आयोजना हुने वार्षिकोत्सव विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहलगायतको सहभागिता रहने छ । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र सहयोगी निकायका प्रतिनिधि पनि कार्यक्रममा सहभागी हुने छन् ।
त्यस्तै इलेक्ट्रिक इन्जिनीयर समाज, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, उपभोक्ता मञ्च नेपाललगायतका प्रतिनिधिहरूको पनि सभागिता रहने छ । उल्लिखित प्रतिनिधिहरूले कार्यक्रममा शुभकामना मन्तव्यसहित आ–आफ्नो धारणा व्यक्त गर्ने आयोगले जनाएको छ ।
नेपालभित्र रहेको विद्युत्को क्षमतालाई समुचित ढङ्गले उपयोग गर्दै उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्न तथा विद्युत् क्षेत्रलाई थप प्रभावकारी एवम् सुदृढ बनाउन आवश्यक ठानी सरकारले दुई वर्षअघि आयोग गठन गरेको थियो । विद्युत् नियमन आयोग ऐन, २०७४ र विद्युत् नियमन आयोग नियमावली, २०७५ अन्तर्गत स्वशासित र संगठित नियमनकारी संस्थाको रूपमा २०७६ वैशाख २५ गते विद्युत् नियमन आयोग गठन भइ पदाधिकारी नियुक्ति गरिएको थियो ।
दुई वर्षको अवधिमा आयोगले नेपालभित्र विद्युत्को उत्पादन, प्रसारण, वितरण र व्यापारलाई सरल, नियमित, व्यवस्थित र पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राखेको बताएको छ । त्यस्तै विद्युत् महसुल नियमन गर्न, विद्युत् उपभोक्ताको हकहित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत् सेवालाई भरपर्दो सर्वसुलभ, गुणस्तरयुक्त र सुरक्षित बनाउन आयोगले आफ्नो उद्देश्य अनुसार काम गरेको दाबी पनि गरेको छ ।
आयोगले स्रोतसाधन तथा जनशक्तिको अभावकाबीच व्यावसायिक योजनाको तर्जुमा, नियमनको मुख्य उपकरणको रूपमा रहेका विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनसम्बन्धी निर्देशिका, २०७६, विद्युत् खरिदविक्री तथा अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६, विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६, विद्युत् नियमन आयोग सार्वजनिक सुनुवाई सचालन निर्देशिका, २०७६, विद्युत् नियमन आयोग अनुमतिपत्र प्राप्त व्यक्ति एकआपसमा वा अन्य संगठित संस्थासँग गाभिन, आपसमा मिल्न, शेयर खरिद, संरचनाको खरिद विक्री वा हस्तान्तरण, प्राप्ति वा ग्रहणसम्बन्धी निर्देशिका, २०७७ लगायतका विभिन्न निर्देशिका र विनियमावली तथा नियामकीय उपकरणहरू तर्जुमा गरेको छ ।
त्यसैगरी, प्रशासनसम्बन्धी विनियमावली, विवाद समाधानसम्बन्धी विनियमावली, आन्तरिक कार्य सञ्चालनसम्बन्धी विनियमावली आर्थिक प्रशासनसम्बन्धी विनियमावली, जलविद्युत् आयोजनाको दोस्रो चरणको विद्युत् खरिद दर निर्धारण तथा विद्युत् खरिद सम्झौतासम्बन्धी निर्देशिका, उपभोक्ता सेवा तथा सुरक्षासम्बन्धी मापदण्ड, ग्रिड संहिता, वितरण संहिता, अनुमतिप्राप्त व्यक्तिको लेखाप्रणाली तथा लेखा परीक्षण विधिमा एकरूपता ल्याउन आवश्यक मापदण्ड जस्ता अन्य आवश्यक नियामकीय उपकरणहरू तर्जुमा गर्ने कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।
यस्तो छ, कार्यक्रम तालिका–
FACEBOOK COMMENTS