काठमाडौं । आर्थिक वर्ष (आव) २०७७-७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति भएको छ ।
उक्त आवमा ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख खर्चअन्तर्गत भुक्तानी भएको महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार चालू आवमा कोष १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक छ ।
मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आव २०७७-७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सरकारको राजस्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको बताइएको छ ।
कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजस्व संकलन भएको हो । प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।
यस्तै आव २०७७÷७८ को कुल खर्चमा नेपाल सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट बेहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको अंश ३ दशमलव ४ प्रतिशत र ऋणको अंश १४ दशमलव ६४ प्रतिशत रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS