काठमाडौं,मंसिर १५- सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य चण्डीराज ढकालले श्रीलंकाको कोलम्बो नोभेम्बर ३० मा आयोजना भएको ‘चाइना साउथ एसिया विजनेश काउन्सिल’ सम्मेलनमा सहभागिता जनाएका छन् ।उनले सार्क नेपालको तर्फबाट कार्यक्रममा सहभागिता जनाएका हुन् । उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणिधर खतिवडाको पनि सहभागिता रहेको थियो ।
सम्मेलनमा चाइना साउथ एसिया विजनेश काउन्सिललाई आगामी दिनमा कसरी अगाडी बढाउने र यसबाट कसरी साउथ एसियाका मुलुकहरुले कसरी अधिकतम फाइदा लिन सक्दछन् भन्ने बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दैं सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य चण्डीराज ढकालले नेपाल सरकारले बैदेशिक लगानी भित्र्याउन पहल गरिरहेको अवस्थामा नेपालमा लगानी गर्न संभाव्य क्षेत्र पहिचान गरी लगानी भित्र्याउने बताएका छन् । उनले नेपालका प्राकृतिक स्रोत, जलविधुत, कृषि लगायतका क्षेत्रमा बैदेशिक लगानी भित्राउन सकिने बताएका छन् ।
उनले नेपाल दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र भारतको बिचमा पर्ने भएकाले यसको बढी भन्दा बढी फाइदा लिन सक्नुपर्ने धारणा राखे । दक्षिण एसिया विश्वकै उदयमान आर्थिक केन्द्र रहेको बताउँदैं उनले चीनले निर्माण गर्न लागेको ‘वन बेल्ट वन रोड’ले सम्पूर्ण दक्षिण एसियाको आर्थिक गतिविधिलाई एउटा नयाँ उचाइमा पुर्याउने धारणा राखे । साथै उनले यस आयोजनाले समग्र दक्षिण एसियाको कनेक्टिभिटि विस्तार गरी अन्तर देशिय व्यापारमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै समग्र दक्षिण एसियाको विकाशका लागि सार्क मुलुकहरुबीच पूर्वाधार,सडक, विजुलीबत्ति, पर्यटन, दुई देशबीचको व्यापार लगायत क्षेत्रमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।
यसका साथै आगामी बर्ष बंगलादेशमा आयोजना हुने उक्त कार्यक्रम अझै प्रभावकारी बनाउन उनले केहि सुझावहरु पनि दिएका छन् । उनले कार्यक्रम आयोजनामा भन्दा पनि त्यसको कार्यन्वयनमा सबैले प्रतिबद्ध भएर लाग्नु पर्ने आग्रह गरे । यसका लागि स्वतन्त्र व्यापार क्षेत्र, संयुक्त पर्यटन प्रबद्धन र सार्क राष्ट्रबीच व्यापार प्रबद्धन जस्ता कुरामा सबैको सहकार्यको आवश्यकता रहेको उनले औल्याए ।
उक्त कार्यक्रममा श्रीलंकाका बाणिज्य मन्त्री, सरकारी तथा निजी क्षेत्रका विशिष्ट व्यक्ति, चीनका अर्थ विभागका विशिष्ट व्यक्ति, सार्क राष्ट्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS