काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘सिटिजन्स सदाबहार योजना’ पहिलो खुलामुखी म्युचुअल फण्ड योजनाले २५ प्रतिशत ओभर सब्सक्रिप्सनसहित ऐतिहासिक रूपमा इकाई बाँडफाँट गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि असार १३ देखि २७ गतेसम्म सार्वजनिक निष्कासन गरिएको यो योजनामा मागभन्दा बढी आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनको विवरणअनुसार तयार पारिएको बाँडफाँड तालिकालाई धितोपत्र बोर्डबाट कुनै आपत्ति नआएकाले साउन १५ गते बिहान डिल्लिबजारस्थित योजना व्यवस्थापक कार्यालयमा बाँडफाँट सम्पन्न गरिएको हो ।
बाँडफाँडमा सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, तथा केही लगानीकर्ताहरूकोसमेत उपस्थित रहेको थियो । नेपालमै पहिलोपटक खुलामुखी म्युचुअल फण्डमा २५ प्रतिशतले ओभरसब्सक्रिप्सन प्राप्त गर्नु यस योजनाको विश्वास र सफलताको प्रमाण भएको कम्पनीको भनाई छ ।
सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्ड सेवा प्रदान गर्दै आएको छ । अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा कम्पनीले देशभरका शाखामार्फत लगानी व्यवस्थापक सेवा पनि प्रदान गरिरहेको छ ।
बैंकले मोफसलका लगानीकर्ताहरूलाई ध्यानमा राखी, सिटिजन्स बैंकका शाखाहरूबाट सहज सेवा उपलब्ध गराइएको छ । यसमार्फत संस्थाले पूँजी बजारमा पहुँच विस्तार र वित्तीय सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चालेको छ ।
FACEBOOK COMMENTS