काठमाण्डौँ — सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ ।
यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ ।
विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो ।
प्रदेशबाट लाइसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए ।
प्रदेश सरकारको मागअनुसार लाइसेन्स छाप्ने अधिकार प्रदेश कार्यालयलाई दिने प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ ।
हाल विभागले देशभरका यातायात कार्यालयमार्फत अनलाइनबाट फर्म भर्ने र डाटा संकलन गरेर स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ ।
विभागबाट मात्र लाइसेन्स छपाइ हुँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउनका लागि महिनौँ कुर्नुपर्ने समस्या सिर्जना भएपछि प्रदेश कार्यालयलाई नै प्रिन्टर दिने तयारी विभागले गरेको हो ।
— समाचार पत्र
FACEBOOK COMMENTS