काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्नि्सिङ एक्स्पो फर्नेक्स आयोजना हुँदैछ । नेपाल फर्निचर तथा फर्नि्सिङ संघले ६ वर्षदेखि फर्निचर तथा फर्नि्सिङ एक्स्पो गर्दै आएको हो । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते २९ गतेसम्म चल्नेछ । बढ्दो आधुनिक जीवनशैली सँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य पर्दछ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट गायत सामग्री प्रदर्शन हुने अध्यक्ष रुपेश प्रधानले बताएका छन् । नेपाली उत्पादनलाई प्राथमिकतामा एकस्पोको आयोजना गरिएको उनको भनाई छ । नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको फर्निचर तथा फर्नि्सिङका उत्पादनहरूको बराबरको कारोबारहुने उनी बताउँछन् । जसको झण्डै ५० प्रतिशतभन्दा बढी विदेशी फर्निचर आयात भइरहेको छ । अध्यक्ष प्रधान संग बसन्त अर्यालले एक्स्पो र फर्निचर उद्योगको विषयमा गरेको कुराकानीः
विगतमा भन्दा यसपटकको फर्निचर एक्स्पोमा के फरक छ ?
आकर्षण भन्नाले खासै त्यस्तो ठूलो अन्तर त केही छैन । तरपनि हरेक एक्स्पोमा हामीले पहिलेको भन्दा भिन्दै होस् भन्ने चाहेकाछौं । त्यसको लागि हामीले पहिले प्रदर्शन नभएका वस्तुहरुलाई विशेष प्राथमिकता दिन खोजेका छौं । त्यसैले नयाँनयाँ उत्पादनहरु प्रदर्शनीमा राख्ने जमर्को गरेका छौं ।
आफूलाई चाहिने वस्तु उपभोक्ताले पसलबाटै किनेको हुन्छ । पसलमा भन्दा के फरक हुन्छ फर्निचर एक्स्पोमा ?
सबभन्दा पहिले त एक्स्पो भनेको एउटा मेला नै हो । मेला भनेपछि अलि भिडभाड त भइहाल्छ । नयाँ वस्तुहरु देख्न हेर्न पाइने, केही सामान सस्तो पनि हुने र एकै थलोमा सबै सामानहरु पाइने आसामा मान्छेहरु आउने गर्छन् । त्यसैले अहिले पनि हामीले त्यही अनुसारको सामानहरु राखेका छौं । मेलामा नयाँ वस्तु, नयाँप्रविधिका सामान के आए भन्ने थाहा हुन्छ । अर्को कुरा स्वरुममा किनेको भन्दा एक्स्पोमा सस्तोमा पनि किन्न पाइने भएकोले मेलाको रौनक विषेश हुने गर्छ ।
मेलामा नेपाली मात्रै नभएर विदेशी कम्पनीहरु पनि आएका हुन्छन् यसपटक क–कसको सहभागिता छ ?
हामीले खासगरी नेपाली फर्निचरलाई नै प्राथमिकता दिएका छौं । हामीले नेपालीलाई नै प्रवद्र्धन गर्नुपर्छ । नेपालमा अहिले विभिन्न तीनचार वटा कार्पेटहरु पनि आएका छन् । अहिले नेपाल कार्पेटको लागि आत्मनिर्भर भइसकेको छ । बाहिरबाट मगाउनु पर्ने स्थिति हटिसकेको छ । त्यसैगरी म्याट्रेस्ट, डोरम्याटहरु पनि नेपालमै उत्पादन हुन्छ । यो प्रदर्शनीमा हामीले विदेशका फर्निचरहरु पनि समावेस गरेका छौं । भारत, चीन, बंगलादेश लगायतका देशबाट आएका फर्निचरहरु पनि राख्ने तयारी भएको छ । यसले गर्दा नेपाल र बाहिरी मुलुकका फर्निचरको गुणस्तर मापन गर्न सकिने छ ।
एक्पोमा कारोबार र अवलोकन कर्ता कति हुने अनुमान छ ?
हरेक वर्ष कारोबार बढ्ने गरेको छ । त्यही पनी दशैँको मुखमा मेलामा आएपछि जसको पनि किन्ने चाहना हुन्छ । मेलामा व्यापार पक्कै पनि राम्रो हुन्छ । विगतमा पनि भइरहेको थियो । हरेक वर्ष यो मेलाको कारोबार आँकडा हेर्दा १०–१५ करोड नाघेको छ । यसपटक पनि त्यो भन्दा बढी नै हुने अपेक्षा गरिएको छ । करिब एकलाखले अवलोकन गर्ने अनुमान छ ।
कारोबार गर्नेको लागि मात्र हो कि जानकारी दिनका लागि स्टल छन् ?
जनकारी मूलक विभिन्न स्टलहरु रहेका छन् । इन्टर डिजाइन सम्वन्धि जानकारी दिने एउटा स्टल छ । जसमा कसरी डिजाइन गरिन्छ भन्ने बारे थाहा पाउन सकिन्छ । विभिन्न संस्थामा कुनकुन इन्टर डिजाइन छन् ? उनीहरुले के–कस्ता सेवा दिएका छन् भन्ने त्यहाँ थाहा पाउन सकिन्छ । यससँगै कसैलाई इन्टर डिजाइन काम चाहिन्छ भने त्यसको सेवा पनि दिनु हुनेछ । बास्तु सम्बन्धि पनि एउटा स्टल छ । त्यसमा कुनै पनि व्यवसाय सुरु गर्दा बास्तुको पनि अध्ययन गरिन्छ । त्यसैले बास्तु पनि चाहिन्छ भन्ने कुराको चेतना पनि फैलाएका छौं । त्यसैगरी कार्पेट, म्यखट्रेस्ट लगाउँदा के–के विधी अपनाउनुपर्छ भन्ने कुरा र कसरी लामो समयसम्म टिकाउन सकिन्छ भन्ने कुराको जानकारी पनि गराइने छ ।
नेपाली काष्ठकलाका सामाग्री प्रदर्शन हुन्छन् कि हुँदेनन् ? कतिवडा स्टल रहन्छन् ?
नेपालमा उत्पादित काष्ठकला, काठका सामग्रीहरु प्रदर्शनीमा सायद आठ÷नौंवटा छन् । त्यसैगरी स्टिलका फर्निचर पनि नेपालमा उत्पादित छन् । त्यो पनि पाँच÷छ वटा छन् । कार्पेट, पार्केट, म्याट्रेस्ट सबैले भाग लिएका छन् । डोरम्याटका पार्टहरुले भाग लिएका छन् । मेनहलमा ५० र बाहिर ५० गरी सय वटा स्टल रहनेछन् ।
नेपालमा ४५ प्रतिशत जंगल छ । थुप्रै काठहरु खेर गइरहेका छन् । हामीले काठका फर्निचरहरु पनि विदेशबाटै ल्याउने गर्छौं ।
तपाईँ यसको संघको अध्यक्ष पनि नेपालकै काठहरु प्रयोग गरेर फर्निचर बनाउन सकिँदैन ?
‘हरियो वन नेपालको धन’ भन्ने एउटा उखान नै छ । तर, धन बनाउन सकिरहेका छैनौं । कतिपय वनलाई व्यवस्थापन गर्न सकिरहेका छैनौं । कतिपय रुखहरु बेवारिसे ढलिरहेका छन् । त्यसलाई व्यवस्थापन गरी उत्पादन गर्नका लागि हामीसँग त्यसको व्यवस्था छैन । त्यो त्यत्तिकै कुहिएर जान्छ । लुकिछिपि वनबिनास तस्करी पनि भइरहेको छ । कतिपय काठहरु हामीले प्रयोग गर्न पनि पाइएको छैनौं । ती काठहरु हामीले प्रयोग गर्न पाएको भए फर्निचरका सामान किन्ने मान्छेले पनि सस्तोमा सामान किन्न पाउँथे होला । त्यो नपाइएको कारणले हामीलाई पनि कच्चा पदार्थको पनि अभाव भएको छ । विदेशबाट कच्चापदार्थ ल्याउन हामी बाध्य भएका छौं । अहिले इन्डिया, मलेसिया, भियतनाम, रसियालगायतका देशका काठहरु आउँछन् ।
फर्निचरका लागि काठ विभिन्न प्रकारका हुन्छन् । बाहिरी मुलुकबाट काठ ल्याइन्छ । त्यस्ता काठ नेपालमा भएर पनि प्रयोग गर्न नसकिएको हो कि नेपालमै नभएर हो ?
फर्निचरमा प्रयोग हुने काठ नेपालमा पनि छन् । सल्लाका काठहरु पाइन्छन् । आँप, उत्तिस काठहरु पनि नेपालमै पाइन्छन् । फर्निचरले बढी लिने काठहरु सिसौ कम पाइएला तर नपाइने भन्ने चाहिँ हुन्न । अरु काठ पनि सिसौ, अग्राख (साल) चाहिँ त्यति नपाइएको भएर बाहिरबाट ल्याउनुपर्ने हो । नेपालमा पाँच÷छ वर्षलाई योजना बनाएर रुख रोप्यो भने पक्कै पनि बाहिरबाट काठ मगाउनु पर्ने स्थिति रहने छैन । हामीकहाँ राम्रा काठहरु पनि छन् र हामी काठमा आत्मनिर्भर हुन पनि सकिनेछ ।
फर्निचर उत्पादन गर्दा उद्योगलाई समस्याहरु के–कस्ता छन् ?
समस्या त धेरै किसिमका छन् । नेपालमा उत्पादनगर्ने मान्छे पछाडि हट्ने, हिचकिच्याउने गर्छन् । कच्चापदार्थको समस्या उत्तिकै छ । पहिलो कुरा त फर्निचर उत्पादनका लागि ठाउँ चाहियो । त्यो ठाउँ उपलब्ध गराउन पनि समस्या छ । अन्य पुर्वाधार बिजुली,बाटो चाहियो । जहाँ बाटो हुन्छ त्याहाँ जग्गाको भाडा पनि महंगो हुने र बाटो नभएको ठाउँमा बाटो पु¥याउने सरकारले वास्ता गरेको छैन । त्यसकारण मान्छेहरु ठूलो रिस्कमा काम गर्न हिचकिचाउँछन् । श्रमिकको पनि समस्या छ । कोही सिप सिकेका हुँदैनन् । कोहीलाई सिकाइसके पछि बाहिर जान हतार गर्छन् । बजारको पनि समस्या छ । बजार सानो भएका कारण जुन हिसाबले लागत पाउनुपर्ने हो त्यो लागत पनि पाउन गाह्रो छ । महंगो सामान सस्तोमा बेच्न पनि सकिँदैन । त्यही हिसाबले सामान बहिरबाट आयात हुने हो ।
बाहिरबाट मगाउँदा सस्तो पर्छ कि नेपालमा उत्पादन गर्दा सस्तो हुन्छ ?
बहिरबाट मगाउँदा सजिलो र सस्तो पनि पर्न आउँछ । नेपालमा आयात बढ्नुको कारण पनि यही नै हो । यहाँ बनाउन पनि महंगो हुन्छ । यहाँ बिजुली र ठाउँ पनि महंगो छ । बजार सानो भएका कारण बाहिरबाट आउन भन्दा यहाँ महंगो छ । हाम्रो आफ्नो मौलिकता त छ । त्यस्ता फर्निचरले मार्केट पनि लिएको छ । जुन सिम्पल खालको हरेक सामानचाहीँ बाहिरको भन्दा यहाँ धेरै महंगो छ । सरकारले यसमा सहयोग गर्यो भने कर शुल्क कायम गर्ने र पूर्वाधारहरु बनाउन सहयोग गर्यो भने लागत पनि कम गर्न र बजार विस्तार गर्न सकिन्छ । त्यसकारण नेपालमा फर्निचर व्यवसाय उत्पादनमुखी हुन भने गाह्रो छ ।
नेपालका हरेक घरमा मौलिक झ्याल ढोकाको प्रयोग हुन्थ्यो । अहिले त्यो देखिन छाड्यो । मौलिक फर्निचर बनाउन त सक्छौ होला नि ?
झ्याल ढोका त पहिले अग्राखको प्रयोग हुन्थ्यो । अहिले चाहिँ आल्मुनियमका झ्यालढोका प्रयोग भएका छन् । तर पनि चौकोसका आफ्नै विशेषता छन् । नेपाली मौलिकता झल्किने मुर्र्ित कुँदिएका झ्याल ढोकाहरु छन् । यस्ता चिजहरु मान्छेहरुले एकदमै खोज्ने गरेका छन् । बाहिरको सामान छिटो, छरितो हुने हेर्दा पनि आकर्षक हुने भएकाले यो धेरै रुचाईने भएको हो । नेपाली सामान पक्कै पनि राम्रो छ । लुक्स राम्रो छ । नेपाली सामानको आफ्नै मौलिकता छ । त्यसैले त्यो धेरै महंगो हुने त्यसकारणले गर्दा यो सामान सिमित मान्छेले मात्रै प्रयोग गरेका छन् । यसलाई प्रवद्र्धन गर्नका लागि फर्निचर महासंघले पहल गरेको छ ।
फर्निचरलाई मौलिक रुपमा विस्तार गर्नका लगि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिले सरकारले नीति ल्याउनु प¥यो । सरकारी भवन, अफिसहरुमा पनि नेपाली संस्कृति र मौलिकता झल्किने नेपाली काठकै झ्यालढोकाहरु प्रयोग गर्ने योजना सरकारले बनाउनुपर्छ जस्तो लाग्छ । यस्तो भयो भने नेपाली वस्तुको प्रोत्साहन हुन्छ र नेपालीले रोजगारी पनि पाउँछन् । अहिले बनेका २० प्रतिशत भवनहरुमा मात्रै मौलिकता झल्किने झ्याल ढोकाहरु छन् । ८० प्रतिशत भने आधुनिक डिजाइनमा बनेका छन् । त्यसकारण सरकारले पहिला प्रयोग ग¥यो भने अन्य जनताले पनि प्रयोग गर्छन् । यसले गर्दा नेपाली काठको प्रोत्साहन हुने थियो ।
FACEBOOK COMMENTS