विनय खड्का
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
खल्ती बाइ आईएमई
झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका आईएमई–पे र डिजिटल वालेट खल्ती आपसमा मर्ज भई गत साउन १ गतेदेखि ‘खल्ती बाइ आईएमई’को नामबाट सेवा सञ्चालन गर्दै आएको छ । मर्जरसँगै ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पूँजी ५४ करोड रुपैयाँ नाघेको छ भने साबिकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा प्रत्यक्ष जोडिएका छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाई आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ ।
यो मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ । यी दुई वालेट मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए । जस्तै: आईएमई–पे ब्याज दिने एकमात्र वालेटका रूपमा चिनिनुका साथै रेमिट्यान्स, इन्ड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकेटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण लोकप्रिय थियो ।
मर्जरपछि दुवै वालेट उत्कृष्ट सेवालाई कसरी एकीकृत गरिएको छ, पुँजी र सेवाग्राहीले ठूलो बनेको वालेटले अब दिने सेवा र सुविधाहरू के–कस्ता हुन्छन् र यसले नेपालको डिजिटल अर्थतन्त्रमा के–कस्तो प्रभाव जमाउँछलगायत विषयहरूमा केन्न्द्रित रही कर्पोरेट खबरले खल्ती बाइ आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्कासँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ, सीईओ खड्कासँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
डिजिटल भुक्तानी माध्यमको रूपमा रहेको खल्ती र आईएमई वालेट मर्ज भएर ‘खल्ती बाइ आईएमर्ई’ भएको छ । तपाइँ यसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुभएको छ । यहाँसम्मको यात्राको बारेमा हामीलाई बताइदिनुहोस् न ?

म मध्यम वर्गीय परिवारमा नुवाकोटमा जन्मिएको हुँ । बुबा शिक्षक हुनुहुन्थ्यो । प्राथमिक तहसम्म गाँउकै स्कुलमा अध्ययन गरेँ । त्यतिबेला राम्ररी पढाई हुँदैनथ्यो । वर्षमा छ महिना त स्कुल बन्दै हुन्थ्यो । बच्चाको बेला पढ्न मन पनि नलाग्ने, स्कुल नगई खोलातिर खेल्न जाने यस्तो हर्कत गरिन्थ्यो । पछि आमाले बहिनी र मलाई लिएर काठमाडौं आउनुभयो ।

कक्षा ५देखि काठमाडौंमै अध्ययन सुरू भयो । पढाईमा खासै राम्रो थिइनँ । कक्षा ७ मा हुँदा एक जना शिक्षकसँग भेट भयो । उहाँले चार्टर्ड एकाउन्टेन्टको बारेमा केही कुरा गर्नुभएको थियो । उहाँको कुरा सुनेपछि मलाई त्यतिबेलै पैसा कमाउनका लागि सीए बन्नुपर्ने रहेछ भन्ने कुरा दिमागमा बसिसकेको थियो । त्यसपछि पढ्नुपर्छ भनेर चेत पनि खुल्दैगयो । एसएलसीमा राम्रै नम्बर ल्याएर उत्तीर्ण गरेँ र प्लस–टूमा पनि राम्रै नम्बर आयो । त्यसपछि चार्टर्ड एकाउन्टेन्ट पढेँ । सीए पढ्न धेरै गाह्रो तर भाग्यले मैले एक पटकमै पास गरेँ । त्यतिबेला एक पटकमा पास हुने दुई जना मात्र थियौँ । मैले ५२ प्रतिशत ल्याएर ‘नेपाल टप’ गरेको थिएँ ।

आज खल्ती बाइ आईएमईको सीईओसम्मको यात्रामा धेरै ठाउँमा काम गरेँ । सीए पास गरेपछि बैंकतिर जाने कि अडिट फर्म सुरू गर्ने भन्ने थियो । त्यसपछि बैंकलाई रोजेँ । त्यहाँ पनि सन्तुष्ट हुन नसकेपछि आफ्नै केही गर्नुपर्छ भनेर फिनटेक व्यवसायमा काम सुरू गरेको हो । ई–सेवा, एफ वान सफ्टमा काम गरेँ । यो अवधिमा धेरै व्यक्तिहरूसँग भेट भयो । २४ वर्षमै चार्टर्ड एकाउन्टेन्ट बनेको थिएँ । एनआईसी एसिया बैंकमा काम गर्दा विभागीय प्रमुख पनि बनेँ । काम गर्ने सिलसिलामा खल्तीको संस्थापक अमित अग्रवालसँग भेट भयो । उहाँले सीईओका लागि प्रस्ताव गर्नुभयो त्यसपछि म खल्तीसँग जोडिए ।

तपाइँ खल्तीसँग जोडिदा सीईओको रूपमा जोडिनुभयो । खल्तीका संस्थापकहरूसँग सामान्य चिनजानबाहेक केहि थिएन । उहाँहरूले तपाइँलाई त्यति ठूलो विश्वास गर्नुपर्ने आधार के थियो ?

त्यसबेला फिनटेक उद्योग आफैमा नयाँ थियो । बैंकिङ क्षेत्र भएको भए कम्तिमा पनि ४०औँ वर्षको अनुभव हुन्थ्यो । मैले फिनटेक व्यवसायमा करियर सुरू गर्दा वालेट व्यापारको भर्खर सुरूवाती अवस्था थियो । सपना ठूलो देख्नुपर्छ र त्यसलाई साकार पार्ने ल्याकत राख्नुपर्छ । अनि काममा लगनशील हुनुपर्छ भन्ने मेरो मान्यता हो । निडर भएर नेतृत्व गर्नुपर्छ र अरुले भनेको कुरामा हो मा हो मिलाउनु भन्दा यस्तो हुनुपर्छ भनेर आफ्नो दृष्टिकोण दिनुपर्दछ । सायद उहाँहरूलाई मेरो त्यही कुरा मन परेर सीईओ अफर गर्नुभएको होला ।
खल्ती र आईएमई–पे मर्ज हुँदा आफ्नो भूमिका के हुने भन्ने कुराले कत्तिको सतायो ? सीईओ नै रहनुपर्छ भनेर प्रस्ताव कसरी आयो ?
सीईओको कारणले गर्दा कम्पनीहरूको मर्जर भाडिएका उदाहरणहरू पनि धेरै छन् । चार वर्षदेखि खल्तीमा सीईओ भएर काम गरेँ । अन्य कम्पनीहरूमा सीईओ पदका लागि लबिङ गर्नुपर्छ, तर हाम्रोमा त्यसको उल्टो भयो । सबैजना तपाइँमा जोस–जाँगर छ, तपाइँ नै बन्नु भन्नुभयो । सबै जिम्मा बोर्डलाई थियो । बोर्डको निर्णयबमोजिम म सीईओ बनेको हुँ । आईएमई ग्रुपको सदस्यहरूसँग धेरै अगाडिदेखि नै चिनजान थियो । कतिपय अवस्थामा सँगै काम पनि गरिएको छ ।
लामो समयदेखि नेतृत्वमा रहँदा तपाइँ आफैंलाई चाहिँ आफू कस्तो खालको नेतृत्वकर्ता हो जस्तो लाग्छ ?
नेतृत्व गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । कसैको पर्फमेन्स ओरिएन्टेड हुन्छन् इम्प्याथेटिक खालको, कोही अलि एग्रिसिभ हुन्छन् त कोहि प्यासिभ खालका नेतृत्वकर्ताहरू हुन्छन् । त्यो भनेको व्यक्तिको व्यवहारमा निर्भर हुने कुरा हो । तर, म जे काम पनि समय मै गर्नुपर्छ भन्नेमा विश्वास गर्छु । कुनै पनि काममा समयको एकदमै महत्व हुन्छ । यदि सही समयमा सही काम गरिएन भने त्यसले कुनै अर्थ राख्दैन ।
नेतृत्व भनेको कुनै एउटा कम्पनीमा भएका ४०/५० जना कर्मचारीका लागि काम गर्ने वातावरण निर्माण गरिदिनु हो । नेतृत्वकर्ता भइसकेपछि कार्यक्षेत्रमा काम गर्दा कुनै कर्मचारीलाई असहज महसुस हुनुहुँदैन भन्ने कुरालाई ख्याल गर्नुपर्छ । यि विषयलाई नै म प्राथमिकतामा राख्ने गरेको छु ।

सीए पढ्नुभएको तपाइँ खासगरी बैंकिङ क्षेत्रमै हुनुपर्थ्यो होला । तर, फिनटेक बजारमा नाम चलेको कम्पनीको कार्यकारी प्रमुख हुनुहुन्छ । जे होस् तपाइँ सफल व्यक्तित्व हो । यहाँसम्म आइपुग्दा तपाइँको अनुभव कस्तो रह्यो ?
जीवन भनेको सिकाई हो । त्यसरी नै विभिन्न कम्पनीमा आवद्ध हुँदै गर्दा यसलाई पनि सिकाइको एक हिस्साकै रूपमा लिने गरेको छु । यात्रामा दु:ख हुन्छ, सफलता पनि हुन्छ । ति सबै भनेको सिकाइको एक अध्याय हो । सिकाइको पक्रिया तब मात्र अन्त्य हुन्छ, जब जीवनको अन्त्य हुन्छ ।
काम गर्दैगर्दा कहिले भनेको जस्तो नतिजा नआउन सक्छ । त्यसबाट निराश हुनुहुँदैन । त्यसलाई पनि सिकाइको एक हिस्सा मान्नुपर्छ । कम्पनीमा काम गर्दै गर्दा पारिवारिक दु:ख आइपर्छन् । खल्तीमा आवद्ध भएको डेढ महिना नहुँदै मैले बुबा गुमाएँ । त्यतिबेला शोकमै बस्ने कि बाहिर आएर काम गर्ने भन्ने कुराले सतायो । किनकी खल्ती भनेको लाखौं मान्छेले विश्वास गरेर प्रयोग गरेको एप थियो ।
लाखौँ मान्छेको विश्वासलाई गुम्न नदिनु पनि मेरो उत्तरदायित्व थियो । जीवनमा जहिले पनि आफूमा भएको अहङ्कार र भावनालाई व्यवस्थित गरेर अगाडि बढ्न सकियो भने सफलता अवश्य हासिल गर्न सकिन्छ । जीवन भनेको सय मिटरको दौड होइन । मैले जीवनको यात्रामा सिकेको यही हो ।
खल्ती र आईएमई दुईवटा महत्वपूर्ण वालेटलाई केही महिनाअघि एकीकृत गरेर कारोबार सुरू गर्नुभएको छ । मर्ज भइसकेपछि यसको कारोबार कस्तो भइरहेको छ ?
देशकै महत्वपूर्ण गेटवे पेमेन्ट एप खल्ती र आईएमई मर्ज हुनु भनेको भुक्तानीको काम गर्नका लागि मात्र होइन । यो भन्दा अगाडि खल्ती र आईएमईबाट फाइनान्सियल इन्क्लुजन अथवा फाइनान्सियल एक्सेसलाई चाहिँ पेमेन्टद्वारा सेवा दिरहेका थियौँ । तर, अब यसलाई वित्तीय सेवा वितरणमा कसरी जान सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यसैले दुईवटा महत्वपूर्ण पेमेन्ट गेटवेलाई मर्ज गरिएको हो । अर्काे उद्देश्य भनेको वितरणलाई कसरी अगाडि बढाउने भन्ने हो ।
खल्ती र आईएमई प्रयोग गरिरहनुभएका प्रयोगकर्ताले जे–जति सुविधा पाइराख्नु भएको थियो त्यो पाउने नै हुनुभयो । अहिले खल्ती एप अपडेटेड भएको छ । अब प्रयोगकर्ताले अतिरिक्त सेवा–सुविधा पनि पाउनुहुनेछ । प्रयोगकर्ताको हिसाबले देशकै सबैभन्दा ठूलो पेमेन्ट गेटवे हो । अझ धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेका छौँ । यो क्षेत्रमा अवसरसँगै चुनौती पनि छ ।
देशकै ठूलो पेमेन्ट गेटवे त बनाउनु भयो तर प्रयोगकर्ताको अपेक्षालाई पूरा गर्नुपर्ने पनि छ । त्यसका लागि खल्ती बाई आईएमईले कस्तो खालको नीति ल्याउँछ ?
नवीनतामा काम गर्ने त हाम्रो जिन मै छ । आज खल्ती र आईएमई यहाँसम्म आइपुग्नुमा इनोभेसन कै कारणले हो । चार जना संस्थापक मिलेर खल्ती एप सुरू गर्नुभएको थियो । त्यस्तै, आईएमई–पे पनि वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिको हो । हिजोसम्म खल्ती र आईएमई–पे पैसा तिर्नलाई, खर्च गर्नलाई, पैसा पठाउनलाई, पैसा पाउनलाई प्रयोग गरिन्थ्यो । अब भने पैसा बचत गर्नलाई, लगानी गर्नलाई, ऋण लिनलाई, बीमा लिनका लागि प्रयोग गर्न सकिने छ । त्यसका लागि हामी काम गरिरहेका छौँ ।
यसबाट आजको दिनमा उच्च ब्याजदरमा पैसा जम्मा गर्ने सेवा लिन सकिन्छ । डिजिटल रूपमा १० देखि १५ सेकेन्डभित्र ऋण दिनसक्ने सुविधा खल्ती बाई आईएमईले ल्याइसकेको छ । त्यसैगरी विभिन्न योजनामा लगानी गर्न सक्ने अवस्था सृजना गर्ने हिसाबले पनि काम गरिरहेका छौँ ।

मर्ज भइसकेपछि खल्ती बाई आईएमईका ग्राहकहरूका लागि नयाँ के छ ?
दुईवटै डिजिटल वालेटको आ–आफ्नै विशेषता छन् । खल्ती इनोभेटिभ, युथफूल, ट्रेन्डी, इभेन्ट, फिल्मको टिकट किन्नेमा अझ ख्याती पाएको हो । खल्तीलाई विशेषगरी जीवनशैलीमा जोड दिएका थियौँ । आईएमई–पेलाई बैंक अथवा वित्तीय कारोबारमा बढी जोड दिएका थियौँ । दुईवटालाई एकै ठाउँमा ल्याउँदा सेवाको सञ्जाल बढेको छ । लाखौँ नेपालीहरू देशबाहिर हुनुहुन्छ । त्यसैले देशमा लोकल भुक्तानीलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा जोड दिने गरेका छौँ । ‘इन्स्योरेन्स बेस्ड लेन्डिङ’ त हामीले सुरू गरिसकेका छौँ ।
दुईवटा डिजिटल वालेट मर्ज हुँदै गर्दा तपाइँको योजनाबमोजिम यसलाई विकास गर्न कत्तिको सहज वा चुनौती ?
नेपालमा ५७ प्रतिशत मात्रै मानिसहरू बैंक खाताको पहुँचमा हुनुहुन्छ । नेपाल राष्ट्र बैंकको नीतिले हरेक स्थानीय तहमा एउटा बैंकको शाखा पुर्याउने नीति भर्खर–भर्खर पूरा भएको छ । तर, देशमा धेरै बिकट ठाउँ पनि छ । जहाँ भुगोलको हिसाबले, स्थलगत, जनसङ्ख्याको हिसाबले विकास गर्न सकेको अवस्था छैन । यस्तो स्थानमा इन्टरनेटको माध्यमबाट सुविधाजनक, पहुँचयोग्य, किफायती बनाउन सकियो भने उक्त स्थानका मानिसलाई पनि भुक्तानीमा समावेश गर्न सकिन्छ । यो एउटा अवसर छ ।
अर्काे भनेको नेपालमा झण्डै नौ लाख ६३ हजार संस्थाहरू दर्ता भएका छन् । ती संस्थालाई आफ्नो व्यवसाय बढाउनका लागि आर्थिक आवश्यकता हुन्छ । त्यस्तै, नेपाली बजारमा स्मार्टफोन, इलेक्ट्रिसिटी र इन्टरनेटको माग ह्वात्तै बढ्यो । त्यसपछि आर्थिक कारोबार पनि त हुनुपर्यो । यो पनि अवसरको अर्काे पाटो हो ।
पछिल्लो समय फेसबुक, ह्वाटस्याप जस्ता समाजिक सञ्जाल प्रयोग नगर्ने कोही हुनुहुन्न । सामाजिक सञ्जाल प्रयोग गरेर विदेशमा भएका छोराछारीसँग कुरा गर्न सक्षम अभिभावकहरूले खल्ती बाइ आईएमईबाट पैसा पाउन र पठाउन सकिहाल्नुहुन्छ । उहाँहरूलाई पनि जोड्न सकिन्छ ।
वित्तीय समावेशिता, फिनटेक भन्नेबित्तिकै पेमेन्ट मात्र हो भन्ने धारणा आम मानिसमा छ । तर फिनटेक धेरै वृहत् छ । जस्तै कसैलाई पाँच हजार रुपैयाँ ऋण चाहियो तर अहिलेसम्म पाँच हजार ऋणलाई ‘क्याटर’ गर्ने कुनै संस्था त छैन वा सय रूपैयाँ बचत गर्नुपर्यो, सय रूपैयाँ बचत गर्न कहाँ जाने त्यसका लागि पनि ठाउँ छैन । तर, स्मार्ट डिपोजिट भयो भने त सधैं बचत गर्न पाइयो । जुन सुविधा खल्ती बाइ आईएमईले ल्याएको छ र सुचारु पनि भइसकेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा यो सुविधा उपलब्ध गराएका हौँ । यो सेवालाई आगामी दिनमा देशव्यापी रूपमा सुचारु गर्ने योजना रहेको छ ।
– खल्ती बाइ आईएमईले १० देखि १५ सेकेन्ड मै ऋण लिन सक्ने सुविधा ल्याएको छ ।
– खल्ती बाई आईएमईले इन्स्योरेन्समा आधारित सेवा सुरू गरिसकेको छ ।
– नेपालका विकट भुगोलका मानिसहरूको पहुँचमा पनि इन्टरनेटको माध्यमबाट भुक्तानी सेवा पुर्याउन सकिन्छ ।
– खल्तीको स्मार्ट डिपोजिटमार्फत हरेक दिन सय रूपैयाँदेखि बचत गर्न सकिन्छ ।
– खल्ती बाई आईएमईले फिनटेक व्यवसायमा ठूलो क्रान्ति ल्याएको छ ।
– नेपाललाई क्यासलेस बनाउन समय लाग्ला तर सम्भव छ ।
– बचत गर्न र ऋण लिनका लागि खल्ती बाइ आईएमई पे प्रयोग गर्न सकिन्छ
नेपालीमा बचत गर्ने बानी एकदमै कम छ । तपाइँहरूले नयाँ विशेषताहरू थप्नुभएको रहेछ, कसरी बचत गर्न सकिन्छ, यसको फाइदाहरू के रहेको छ, थप प्रष्ट पारिदिनुहोस् न ?
हिजोको दिनमा खल्ती आईएमई आर्थिक लेनदेनका लागि प्रयोग हुने गरेको थियो । तर अब बचत पनि गर्न मिल्ने भएको छ । दैनिक सय रूपैयाँदेखि, साप्ताहिक वा मासिक रूपमा बचत गर्न सकिन्छ । यो नेपाल राष्ट्र बैंकबाट लाइसेन्स भएको बैंक वा फाइनान्सियल संस्थामा खाता बनाएर बचत हुने हो । बचतकर्ताको बचतलाई खल्तीले बैंकको खातामा जम्मा गरिदिने हो । यसरी बचत गर्दा बैंकमा गएर लाइन बस्नुपर्ने र भौचर भरिराख्नु पर्दैन, डिजिटल रूपमा नै गर्न मिल्छ ।
त्यसका लागि बैंकले नै अलग खाता खोलिदिन्छ, बचतकर्ता जानुपर्दैन । बचतकर्ताले वार्षिक ७ प्रतिशतका दरले ब्याज पनि पाउनुहुन्छ । कसैले एक वर्षसम्म पैसा जम्मा गर्छु अनि आफ्नो उद्देश्यलाई पूरा गर्छु भन्ने योजना बनाउनुभएको छ भने त्यसलाई सहजीकरण गर्नका लागि हामीले यो सेवा सुरू गरेका हौँ ।

कम्पनी जति शक्तिशाली र प्रभावकारी हुन्छ त्यति नै प्रतिस्पर्धा पनि बढ्दै जान्छ, अहिले आर्थिक कारोबारका लागि सबै बैंकहरूको आफ्नै मोबाइल बैंकिङ छ, यसले फिनटेक कम्पनीमा कस्तो प्रभाव पार्छ र खल्ती बाइ आईएमई किन प्रयोग गर्ने ?
यो भनेको इको सिस्टम हो । ८/१० वर्ष अगाडि पेमेन्ट सिस्टम उद्योगको रूपमा स्थापित भएको थिएन । बजारमा बैंकिङ र वालेट क्षेत्रबाट अन्य प्रतिस्पर्धीहरू पनि आएपछि उद्योगको रूपमा स्थापित भएको हो । जुन सुविधा खल्ती र आईएमई पेले दिरहेको छ त्यो मोबाइल बैंकिङमा छैन । सबै बैकमा गएर एनटीसी एनसेलसँग सम्झौता गर्न पनि सहज नहोला । वालेट भनेको वैकल्पिक रोजाइको रूपमा उपस्थित छ ।
अब निओ बैंकको अवधारणा आइरहेको छ । यस्तो अवस्थामा वालेटहरू एकअर्कासँग मिलेर अगाडि बढ्न आवश्यक छ । पेमेन्ट भनेको फिनटेकमा एउटा सानो कम्पोनेन्ट मात्र हो । ठूलो रिभोलुसन आउन बाँकी नै छ जस्तो लाग्छ । जसरी बैंकमा ए, बी, सी, डी क्लास भनेर छुट्याइएको छ । त्यसैगरी फिनटेक मार्केटनमा पनि आ–आफ्नो क्लास छुट्टिँदै जाने छ ।
पेमेन्ट वालेटबाट पैसा पठाउँदा समस्याहरू आइरहेको हुन्छ कतिपय अवस्थामा मैले पैसा पठाएँ, बैंक अकाउन्टबाट पनि काटियो तर जसले पाउनुपर्ने हो उसलाई गएन । कुनैबेला वाइफाई कनेक्ट गर्दा डाटा खोल्नुपर्ने र डाटा खोल्दा वाइफाई कनेक्ट गर्नुपर्ने अवस्था सिर्जना हुन्थ्यो । खल्ती बाई आईएमईले यस्तो समस्या उत्पन्न हुन नदिन के कस्तो कदम चालेको छ ?
नेटवर्कमा आवद्धमध्ये कुनै सर्भिस प्रोभाइड गर्ने मर्चेन्टमा केही समस्या छ भने पनि त्यो पुरै ट्रान्जेक्सनमा समस्या उत्पन्न हुन्छ । प्रयोगकर्ताबाट वालेटमा आयो, वालेटबाट मर्चेन्टमा जानुपर्छ नेटवर्कका कारणले त्यो हुन पाएन । एउटा बैंकबाट अर्को बैंकमा गर्नुपर्ने छ, त्यो बीचमा खल्ती आईएमई छ भने पनि सेन्डिङ अथवा रिसिभिङ साइटको बैंकमा केही समस्या आयो भने पनि ट्रान्जेक्सन हुन पाएन, यसरी समस्या उत्पन्न हुने हो ।
कहिलेकाहिँ आर्थिक वर्षको अन्त्यमा कतिपय संस्थाहरूको विभिन्न ईओडी नै सकिएको हुँदैन । त्यो कारणहरूले पनि सेवाहरूमा असर पर्न सक्छ । पूरै प्रणालीलाई नै डिजिटलाइज गरियो भने यो समस्या आउँदैन । हामीले रिचार्ज कार्ड ल्याएर स्क्र्याच गरेर, एक्सएलमा त्यो नम्बर राखेर अनि त्यसलाई सिस्टममा हालेर अनलाइन रिचार्ज गर्न सुरू गरेको हो । त्यसरी वालेट सुरू गरेका हौँ ।
खल्ती बाई आईएमईलाई व्यवस्थित र विश्वसनीय बनाउनका लागि ठूलो लगानी गरिएको छ । भौतिक पूर्वाधारमा ठूलो लगानी गरिएको छ । खल्ती र आईएमई दुईवटै संस्था स्थापना भएको नौ वर्षमा प्रवेश गर्दै गर्दा सयौँ करोडको लगानी गरिएको छ । यसलाई चुस्त दुरुस्त बनाउँदै लिएर जाने हाम्रो सपना वा भनौँ उद्देश्य हो । आईएमई खल्ती लिमिटेड मात्रै एउटा यस्तो संस्था हो, जसले सबै पीएसओहरूसँग इन्टरअपेरबल छ ।
ई–सेवा टु खल्ती, खल्ती टु ई–सेवा गर्ने भन्ने आम जन चासोको विषय बनेको छ । यो पनि चाँडै नै पूरा हुन्छ । सबै कुराहरूलाई हामीले समेट्दै लिएर जान्छौँ । समस्या आउँछन् तर दोहोरिनु भएन मुख्य विषय त्यो हो ।
खल्ती बाई आईएमईमा १२७ लाख भन्दा बढी प्रयोगकर्ताहरू रहनुभएको छ । यसको माग बढ्दै जाँदा साइबर सुरक्षाका चुनौतीहरू पनि रहेको छ । सुरक्षा र प्रविधिको हिसाबले खल्ती बाई आईएमई सुरक्षित भनेर प्रयोगकर्ताले विश्वास गर्ने आधारहरू के छ ?
विश्वव्यापी सुरक्षाको मापदण्ड अपनाएका छौँ । खल्ती बाई आईएमई आईएसओ सर्टिफाइड कम्पनी हो । कम्पनीवाइज पनि र हाम्रो प्ल्याटफर्महरू रेगुलर भीएपीटी अथवा पीसीआईडीएसएसको स्ट्यान्डर्ड वा आईएसओ अडिटको स्ट्यान्डर्डहरू विभिन्न समयमा इन्स्पेक्सनहरू रेगुलेटरी बडीबाट पनि आउँछ । नेपाल राष्ट्र बैंकले जुन साइबर रेजिलियन्स गाइडलाइन्स भनेर इस्यु गरेको छ त्यसलाई पनि हामीले फलो गरेका छौँ । संस्थाका लागि हामी आफैंले पनि त्यही अनुसारको सुरक्षा अपनाएका छौँ । सुरक्षाको बारेमा सबै प्रयोगकर्तालाई ढुक्क हुनुहोस् भन्न चाहान्छु । तर, आजको दिनमा जेजति पनि वित्तीय अपराध अथवा स्क्यामहरू बढिरहेको छ, जनचेतनाको कमीले गर्दा हो । यसबाट सजग रहन आवश्यक छ ।
लिङ्क थिच्नुहोस, करोडपति बन्नुहोस जस्ता लिङ्कहरू आइरहेको हुन्छ । करोडपति बन्ने चक्करमा मान्छेले आफ्नो सर्वश्व गुमाउँछ । त्यस्तो खालको प्रलोभनमा पर्नुभएन । यस्तो खालको समस्यालाई समाधान गर्न पीएसपी एसोसिएसन भनेर भुक्तानी सेवा प्रदायकहरूको एउटा संघ छ त्यसले काम गरिरहेको छ । सुरक्षालाई बलियो बनाउनका लागि जनशक्ति चाहिन्छ, त्यसको लागि भौतिक पूर्वाधार चाहिन्छ त्यसैले खल्ती बाई आईएमईले सुरक्षामा ठूलो लगानी गरेको छ ।

कम्पनीलाई अपग्रेड गर्ने क्रममा प्रयोकर्ताको डाटाहरू पनि ट्रान्सफर भइरहेको हुन्छ । मेरो डाटा सुरक्षित छ भनेर प्रयोगकर्ताले कसरी विश्वास गर्ने ?
डाटा सुरक्षाका लागि आफ्नै स्ट्यान्डर्डहरू रहेको छ । खल्ती आईडी कुनै पनि प्रयोगकर्ताको नाम प्लेन टेक्स्टमा राख्न मिल्दैन । इन्क्रिप्सन भएर बस्न पर्यो । एउटा संस्थाले अर्को संस्थासँग एकीकरण गर्दा टोकनाइज हुनुपर्यो । यस्तो खालको प्रविधिहरू बजारमा छन् । त्यो प्रविधिलाई हामीले प्रयोग गरिरहेका छौँ ।
जो कम्पनी सेक्युरिटीमा, इन्फ्रास्ट्रक्चरमा काम गरिरहेका छन् । उनीहरूले डिभाइस कसरी सेक्युर गर्ने हो, वाइफाइमा कनेक्ट हुन दिने कि नदिने जस्ता विषयमा ध्यान दिनुपर्छ । यही अफिस (खल्ती कार्यालय)मा पनि आउनुभयो भने वाइफाइमा एक्सटर्नल डिभाइस कनेक्ट गर्न मिल्दैन । रिसेप्सनमा छुट्टै वाइफाइको एक्स्पायरी डेटसहितको सेपरेट कुपन हुन्छ । त्यो मात्रै युज गर्न मिल्छ । सानो–सानो कुरामा याद गर्नुपर्ने हुन्छ ।
कुराकानी गर्दै जाँदा हामी फिनटेक क्षेत्रको प्रयोग, उपयोगिता र सुरक्षालगायत विशेषताभित्र चुर्लुम्मै डुब्यौँ । तर, नेपालमा फिनटेक व्यवसायको भविष्यचाहिँ कस्तो देखिन्छ ?
खल्ती बाई आईएमईले फिनटेक व्यवसायमा ठूलो क्रान्ति ल्याएको छ । महिनामा अर्बौं–खर्बाैंको डिजिटल ट्रान्जेक्सनहरू भइरहेको छ । भुक्तानी सेवाप्रदायक वालेटले मात्रै ५० अर्बभन्दा बढी बराबरको कारोबार हरेक महिना गर्छ । त्यसमा लगभग साढे तीन करोडदेखि चार करोड वटा ट्रान्जेक्सन हुन्छ । यसरी हेर्दा नेपालमा फिनटेकको भविष्य निकै नै उज्वल रहेको छ ।
जस्तै: बैंकिङ क्षेत्रमा केही समस्या आयो भने बीमाको डिजिटलाइजेसन बाँकी रहेको छ । जहाँ–जहाँ वित्तीय जोडिएको छ, त्यहाँ–त्यहाँ डिस्रप्सन आउन बाँकी नै छ । सबै कुराहरूलाई इनोभेसनले ड्राइभ गर्नुपर्छ । इनोभेसनले नै उत्पादनमा दक्षता ल्याउने हो । अहिले त एआई, ब्लकचेनको कुराहरू आएको छ । यसले अझ बढी वित्तीय प्रणालीलाई पारदर्शिता बनाउँछ । त्यसैले नेपालमा फिनटेक व्यवसायको भविष्य उज्वल रहेको छ । खल्ती बाई आईएमईले दैनिक साढे चार लाखदेखि पाँच लाख रुपैयाँसम्मको कारोबार गरिरहेको छ ।
क्रस बोर्डर झुक्तानीको हालको अवस्था र भावी सम्भावनाहरू कस्तो देख्नुहुन्छ ?
क्रस बोर्डर पेमेन्ट इनवार्डमा एक तहको काम भइसकेको छ । आजको दिनमा खल्ती बाई आईएमईको क्युआरहरू बजार विस्तार भएको छ । जसमार्फत इन्डियाबाट यूपीआईको एपहरूबाट भुक्तानी प्राप्त गर्न सकिन्छ । खल्ती बाई आईएमईले नै नेपाल–पेसँगको साझेदारीमा क्युआरहरू वितरण गरेको छ । नेपालमा अहिले अली–पेलगायत विभिन्न ३६ वटा भन्दा बढी एपहरूबाट भुक्तानी गर्न मिल्ने व्यवस्था भइसकेको छ । यो भित्री कुरा भयो ।
अब पैसा बाहिर जाने विषय जस्तै: भुक्तानी सन्तुलन, व्यापार सन्तुलनको विषयमा नेपाल राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ । भोलिका दिनहरूमा एउटा सीमाभित्र रहेर जसरी अहिले डलर कार्डहरू इस्यु भएको छ । त्यस्तैगरी एउटा सीमा राखेर विभिन्न पेमेन्ट इन्स्टुमेन्टहरूबाट फास्ट पेमेन्ट सिस्टम (एफपीएस) बाट पनि यो पहल हुन्छ । यो विषय पनि अगाडि बढिरहेको छ । यूपीएआइबाट भुक्तानी हुने, अली–पेको नेटवर्कबाट भुक्तानी हुने प्रणाली सुरू भइसकेको छ र त्यहाँबाट पनि राम्रो भुक्तानी आइरहेको छ ।
नेपालमा फिनटेक उद्योगसम्बन्धी विद्यमान नीति–नियमहरू तपाइँको दृष्टिमा कत्तिको अनुकूल वा प्रतिकूल छन् ?
भुक्तानी प्रणालीमा नेपाल सोचेको भन्दा पनि धेरै अगाडि बढिसकेको अवस्था छ । बजार पनि त्यही अनुसार विस्तार भइरहेको छ । कुनै पनि व्यवसायलाई नियमन गर्नका लागि नीति नियमको आवश्यकता त पर्छ । यसमा नेपाल राष्ट्र बैंकको नीति नियमहरू फिनटेक व्यवसायका लागि परिमार्जन गर्न जरुरी छ ।
क्यासलेस नेपाल बनाउन कत्तिको सम्भावना छ ? त्यसका लागि खल्ती बाइ आईएमईको भूमिका कस्तो रहला ?
नेपाललाई क्यासलेस बनाउने कुरा आइरहेको छ, तर तत्कालै नहोला । तत्कालै नभए पनि नेपाललाई क्यासलेस बनाउने सम्भावना प्रबल छ । नोट सर्कुलेशन नै धेरै घटिसकेको छ । आर्थिक कारोबार जति सक्दो छिटो क्यासलेस बनाउन सकियो त्यति नै छिटो देशको अर्थतन्त्र बलियो हुन्छ । अहिले जति पनि पेमेन्ट वालेटबाट लेनदेन भइरहेको छ । सीमित रूपमा मात्र भइरहेको छ । भोलिका दिनमा बचतको सम्भावना, लगानीको सम्भावनामा राम्रो काम गर्न सकिन्छ ।
पाँच वर्षपछि खल्ती बाई आईएमई कुन रूपमा देख्न पाइने छ ?
आईएमई खल्ती लिमिटेड एउटा सार्वजनिक कम्पनी हो । त्यसैले हाम्रो रोडम्यापमा भोलि केही प्रतिशत स्वामित्व सर्वसाधारणलाई दिने रहेको छ । भोलि लिस्टिङमा जानुपर्ने पनि होला । खल्ती बाई आईएमईसँग भुक्तानीका साधनहरू रहेका छन् । वित्तीय समावेशीकरणका साधनलाई रूपान्तरण गर्ने नीति लिएका छौँ ।
बिहान उठेदेखि बेलुका नसुत्दासम्म आर्थिक आवश्यकता पर्छ । त्यसलाई क्याटर गर्ने फाइनान्सियल लाइफस्टाइलका लागि एउटा इन्टायर ग्यामेट नै त्योभित्र हामी लिएर आउने योजनामा छौँ र त्यसले प्रोडक्टीभिटी र इफिसिएन्सी पनि ड्राइभ गरोस् भन्ने चाहना पनि हुन्छ । त्यहीअनुरूप काम गरिरहेका छौं ।
अन्तिममा, युवा उद्यमी वा स्टार्टअप फिनटेक संस्थाहरूलाई तपाइँको सल्लाह के छ ?
फिनटेक क्षेत्रमा उद्यमशीलता अथवा इनोभेसनले ड्राइभ गर्ने एन्टरप्रिनर्सिप भर्खर भर्खर उदाउन सुरू भएको छ । त्यसैले यस क्षेत्रमा आउन चाहने युवा, लगानीकर्तालाई अवसर राम्रो छ भन्न चाहान्छु । नेपालमा उत्पादन गरेको वस्तु, सेवाहरू नेपालमा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । नेपाली बजारमा उत्पादन भएको वस्तुलाई विश्वव्यापीकरण गर्न सकिन्छ ।
नेपालमा भर्खरै मात्रै सार्क ट्याङ्क जस्ता रियालीटी शोहरू सुरू भएको छ । यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्छ । कसैसँग इनोभेसन गर्ने आइडिया छ । त्यसलाई एग्जिक्युट गर्न सक्छु भन्ने आँट छ भने आर्थिक अभावका कारण रोकिनुपर्छ भन्ने लाग्दैन ।
आईएमई–पे अथवा खल्ती पनि शून्य बाट नै सुरू गरिएको हो । आज यहाँसम्म आइपुगिएको छ । काम गर्दा आफूअलाई जुन क्षेत्रमा रमाइलो लाग्छ, जुन क्षेत्रमा काम गर्न मन पर्छ त्यसमा केन्द्रित भएर काम गर्ने हो भने सफलता हासिल गर्न सकिन्छ ।
FACEBOOK COMMENTS